
गोरखामा गाईजात्रा औपचारिकतामा सीमित
गोरखामा यसबर्षको गाईजात्रा औपचारिकतामा मात्र सीमित रहेको छ । रसुवा बाढीले देशभर शोकको अवस्था रहेकाले गाईजात्रालाई औपचारिकतामा सीमित गरिएको नेवा देय दवुले जनाएको छ ।
गाईजात्रा नेवारहरुको सांस्कृतिक पर्व हो । गाईजात्राका अवसरमा नेवार समुदायले गतबर्षको गाईजात्रादेखि यो गाईजात्रासम्मको अवधिमा मृत्यू भएका आफन्तको घरबाट गाई निकालेर मानिआएको भीमसेन मन्दिर तथा अरु विभिन्न मन्दिरसम्म पु¥याएपछि नगरपरिक्रमा गर्ने परम्परा छ ।
त्यस्तै साँझको बेलामा हाँस्य व्याङ्ग्य र बाजागाजासहित टाकटुके, लाखे लगायतका नाच नाच्ने प्रचलन छ । नेवार समुदायको छाता संस्था नेवा देय दबुले संस्थागत निर्णय गरेर यसबर्षको गाईजात्रामा मृतकको घरबाट गाई निकाल्ने कार्यमात्र गरेको दवुका अध्यक्ष देवीप्रसाद श्रेष्ठले जानकारी दिए । ‘यसबर्ष विगतमा झैं टाकटुके, लाखेलगायतका कुनै पनि नाच निकालिएन’, अध्यक्ष श्रेष्ठले भने, ‘मृतकको घरबाट गाई निकाल्नुपर्ने हाम्रो सांस्कृतिक परम्परा भएकाले परम्परा धान्ने काम मात्र भयो । धुमधाम नाचगान गरिएन ।’
कसैलाई नाचगान गर्ने इच्छा पनि नभएको कसैलाई पनि नाचगान हेर्ने मन पनि नभएको उनको भनाइ छ । गोरखा सदरमुकामको उत्कृष्ट सांस्कृतिक गाईजात्रा नाच प्रदर्शन गर्ने छिपिटोलमा पनि गाईजात्र औपचारिकतामा सीमित रहेको सो टोलका रामबाबु श्रेष्ठले जानकारी दिए ।
‘हाम्रो टोलबाट मृतकको घरबाट गाई निकालेर विन्ध्यावासिनी, बराहसम्म पुगेर फर्कने जुन परम्परा थियो, त्यो धान्ने काम मात्र भयो’, श्रेष्ठले भने, ‘अरु विभिन्न टोलका साथीहरुले के कसरी गाईजात्रा मनाउने भन्ने सोधपुछ भएको थियो । हामीले घरबाट गाई निकालेर मन्दिरसम्म जाने र फर्केर आउने काम मात्र गर्ने, नाचगान नगर्ने भन्यौँ । सबैको सल्लाहअनुसार गाईजात्रा धुमधाम बनाइएन ।’ गाईजात्राको भोलिपल्ट मनाउने हिलेजात्रा पनि नमनाउने उनले बताए ।




