| बुधबार, भदौ ९, २०८३

पहिरोले धार्चेको १५ घरधुरी उच्च जोखिममा

प्रतीक्षा आले
अविरल बर्षाका क्रममा झरेको पहिरोले उत्तरी गोरखाको धार्चे गाउँपालिकाका १५ घरधुरी उच्च जोखिममा परेका छन् । पालिकाको वडा नं ६ काशीगाउँबेशीका १४ र वडा नं ७ खानीबेसीका एक घर उच्च जोखिममा परेको सो गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले बताइन् ।

जोखिममा परेका उनीहरु अहिले घर छाडेर सुरक्षित ठाउँमा सरेका छन् । अस्थायी रुपमा सुरक्षित ठाउँमा सरेका उनीहरुलाई स्थायी रुपमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको पालिकाकी उपाध्यक्ष गुरुङले जानकारी दिइन् । ‘काशिगाउँबेशी बस्तीमाथिबाट पनि पहिरो खसिरहेको छ, बस्ती मुनिबाट पनि जमिन भासिँदै गएको छ’, उपाध्यक्ष गुरुङले भनिन्, ‘पहिरो रोकथामका लागि तत्कालै केही गर्न सक्ने अवस्था छैन् । बरु त्यहाँका बासिन्दाहरुलाई नै तत्कालका लागि अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरेका छौँ ।’ हिउँद लागेसँगै पहिरो रोकथामका लागि आवश्यक पूर्वधार निर्माणको काम सुरु गर्नुपर्ने उपाध्यक्ष गुरुङले बताएकी छिन् ।

पहिरोका कारण काशीगाउँबेशीका अधिकांश घरहरु भत्किएका, घरमाथि ढुङ्गा खसेका र गारोहरु चर्किएका छन् । त्यहाँका बासिन्दाहरु अन्नबाली लिएर सुरक्षित ठाउँमा स्थानान्तरण भैसकेका छन् । काशीगाउँ र खानीबेसीका पहिरो पीडितहरुलाई नेपाल रेडक्रस सोसाइटी गोरखा जिल्ला शाखाले केहीदिन अघि राहत सामग्री वितरण गरेको छ ।

शाखाले तत्कालिन अवस्थाका लागि पहिरो पीडितहरुलाई त्रिपाल लगायत अतिआवश्यक घरायसी सामाग्रीहरु सहयोग गरेको हो । साथै, पहिरो पीडित १५ घरधुरी र आगलागी पीडित एक घरधुरीलाई १५–१५ हजारका दरले सहयोग गर्न लागेको रेडक्रम सोसाइटी गोरखा जिल्ला शाखाका अध्यक्ष भीमसेन काजी बानियाँले बताए ।

‘राहत वितरण गर्न हामी स्थलगत रुपमा पुगेर घरधुरी अनुगमन, सर्वेक्षण र फारम भर्ने काम गरिसकेका छौँ । अब केही दिनभित्र राहत रकम हस्तान्तरण गर्छौँ’, अध्यक्ष बानियाँले भने । पहिरो पीडितका लागि धार्चे गाउँपालिकाले पनि आवश्यक साथ सहयोग गर्ने उपाध्यक्ष सुनिला गुरुङले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्