
राष्ट्रिय सभा महिला समन्वय समितिको सचिवमा गोरखाकी देवकोटा
राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ । समितिको संयोजकमा सांसद रेणु चन्द र सचिवमा सांसद सम्झना देवकोटा चयन भएका छन् । राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीको विशेष उपस्थितिमा महिला समन्वय समिति गठन गरिएको हो ।
समिति गठनसँगै समितिको कार्यविधि २०८३ पनि पारित गरिएको छ । राष्ट्रिय सभा नियमावली २०७५ (दोश्रो संशोधन) को नियम २३२ ङ बमोजिम २०८३ जेष्ठ १७ गते गठन भएको हो । यो समितिले संविधान र कानुन प्रदत्त महिला अधिकार सुनिश्चित गर्न, लैंगिक समानता र सामाजिक न्यायका लागि प्रभावकारी भूमिका खेल्ने उद्देश्य राखेको छ ।
समितिले लैंगिक सवालमा एकीकृत धारणा बनाउने, अध्ययन–अनुसन्धान गर्ने, क्षमता अभिवृद्धि गर्ने तथा संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने लगायतका कार्य गर्नेछ । समिति बढीमा नौ सदस्यीय रहनेछ भने संयोजक र सचिव हरेक वर्ष चयन गरिने व्यवस्था गरिएको छ ।




