
गोरखा अस्पतालमा अब ‘इन–डोर र आउट–डोर फार्मेसी’
प्रदेश अस्पताल गोरखाले बिरामीहरुको अत्याधिक भिडलाई मध्यनजर गर्दै ‘इन–डोर र आउट–डोर’ गरी अलग–अलग फार्मेसी सेवा सुरु गरेको छ । अस्पताल व्यवस्थापन समितिले सोमबारबाट अन्तरंग सेवाका बिरामी र इमर्जेन्सी सेवाका बिरामीलाई विशेष सुविधा पुगोस् भन्ने हेतुले इन–डोर फार्मेसी सेवा संचालनमा ल्याएको समितिका अध्यक्ष कृष्ण ढकालले बताए ।
इन–डोर फार्मेसी सेवा अन्तरगत अस्पतालले ओपिडी र आकस्मिक सेवाका बिरामीहरुको लागि छुट्टाछुट्टै फार्मेसी सेवा संचालन गरेको ढकालले जानकारी दिए । यसो गर्दा अस्पतालमा भीड न्यूनिकरण हुनुका साथै बिरामीहरुले घण्टौँ लाइन बस्नु नपर्ने उनको भनाइ छ ।
‘भर्ना भएर उपचारत, डिस्चार्ज भएका साथै अप्रेसन गर्ने बिरामीहरु र आकस्मिक सेवाका बिरामीहरुले इन–डोर फार्मेसीबाट सेवा लिन सक्छन्’, उनले भने, ‘ओपिडिका बिरामीहरुका लागि अस्पतालको नियमित फार्मेसीबाट सेवा संचालन हुन्छ । एउटै फार्मेसीमा अन्तरंग सेवा, बहिरंग सेवा, इमर्जेन्सी सेवाका बिरामी र उनीहरुको सहयोगीहरुको असाध्यै भीड लाग्छ । छुट्टाछुट्टै फार्मेसी भयो भने यो भिडलाई केही हदसम्म न्यूनिकरण गर्नेछ भन्ने विश्वास छ ।’
नयाँ फार्मेसी सेवासंगै प्रदेश अस्पताल गोरखाले आँखा, नाक, टाउको तथा घाँटीसँग सम्बधित उपचार (इएनटी) सेवा पनि सुरु गरेको छ । त्यस्तै डाइलासिस सेवा पनि थप गरेको छ । चालु आर्थिक वर्ष २०८३/०८४ भित्रै गोरखा अस्पताललाई १०० शैयामा स्तरोन्नती गर्ने योजना अस्पतालको छ । अस्पताललाई १०० शैयाको बनाउन अति आवश्यक रहेको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले बताए । हाल ५० शैयाको प्रदेश अस्पतालले ७० देखि ७५ शैयाको सेवा संचालन गरिरहेको पनि उनको भनाइ छ ।
अस्पतालमा पर्याप्त बेड नभएकै कारण दैनिक ५, ६ जना बिरामीहरुलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेसु शम्भु अधिकारीले बताए । उनी भन्छन्, ‘बेड नभएर यहीँ उपचार हुने बिरामीहरुलाई पनि बाहिर पठाउनु परेको छ । जनशक्ति अभाव हुँदा ४ जना नर्सले एकैचोटी ५० जना बिरामीलाई हेर्नुपरेको छ ।’
चालु आर्थिकवर्षभित्र अस्पतालमा एसएनसियू तथा आईसियू सेवा, सिटी स्क्यान सेवा र गर्भावस्थामा गरिने अल्ट्रासाउन्ड जाँचहरू, एनोमली स्क्यान र फिटल इकोकार्डियोग्राफी सेवा समेत सुरु गर्ने तयारी रहेको प्रदेश अस्पताल गोरखाले जनाएको छ ।




