
मनास्लु आरोहणका लागि रोप फिक्सिङ टोली प्रस्थान
आगामि शरद् ऋतुमा हुने मनास्लु हिमाल आरोहणको तयारी तीव्र बन्दै गर्दा आरोहण मार्ग तयार पार्ने जिम्मेवारीसहित रोप फिक्सिङ टोली सोमबार मनास्लु क्षेत्रतर्फ प्रस्थान गरेको छ । विश्वको आठौँ अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) मा आरोहणका लागि आवश्यक डोरी तथा सुरक्षित मार्ग व्यवस्थापन गर्न जाने टोलीलाई पर्वतारोहण संचालक संघ नेपालले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको छ ।
टोलीमा छिरिङ भोटे, लोप्साङ भोटे, पाम दोर्जी शेर्पा, फुरी शेर्पा, ङिमा शेर्पा, कर्मा सार्की शेर्पा र पासाङ ग्याल्जेन शेर्पा छन् । उनीहरूले मनास्लुको आरोहण मार्गमा आवश्यक रोप फिक्सिङको काम पूरा गर्नेछन् । बिदाइ कार्यक्रममा संघका अध्यक्ष डम्बर पराजुली, सांसद मिङ्मा ग्याबु (डेभिड) शेर्पा, नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे, नेपाल पर्यटन बोर्डका निजी क्षेत्रतर्फका कार्यकारी बोर्ड सदस्य पेम्बा शेर्पासहित पर्यटन तथा पर्वतारोहण क्षेत्रका विभिन्न सरोकारवालाको उपस्थिति थियो ।
कार्यक्रममा संघले रोप फिक्सिङ टोलीलाई आफ्नो संघको झण्डा हस्तान्तरण गर्दै सुरक्षित तथा सफल अभियानका लागि शुभकामना व्यक्त गरेको थियो । मनास्लु आरोहणको मुख्य सिजन सुरु हुनुअघि आरोहण मार्गमा डोरी जडान तथा आवश्यक तयारी पूरा हुनु आरोहण अभियानको सुरक्षाका दृष्टिले महत्वपूर्ण मानिन्छ । यसले आगामी शरद् ऋतुमा मनास्लु आरोहणका लागि जाने स्वदेशी तथा विदेशी पर्वतारोहीलाई सुरक्षित रूपमा शिखरतर्फ अघि बढ्न आधार तयार गर्नेछ ।




