| सोमवार, भदौ ७, २०८३

सबै पालिकाका केन्द्रसम्बन्धी विवाद साम्य हुनु सुखद

गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र विवाद अव साम्य भएको छ । गाउँ कार्यपालिकाले वनटारमा केन्द्र स्थापना गर्ने भनी चारबर्ष अघि गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हालै खारेज भएपछि अब सो पालिकाको केन्द्र वनटारमा नै हुने भएको छ । यसअघि पनि सो पालिकाले वनटारकै सामुदायिक भवनबाट काम सञ्चालन गर्दै आएको थियो ।

सो ठाउँमा पालिकाको भवनको नाउँमा स्थानीय जुनबहादुर र रेशम माया गुरुङले आठ रोपनी जग्गा दान गरेका थिए भने निर्माणाधीन सुपर त्रिशुली जलविद्युत आयोजनाले सामुदायिक भवन र पूर्वाधार विकास कार्यालयले बहुउद्देश्यीय हल निर्माण गरेर हस्तान्तरण गरेका थिए । तिनै भवनहरुलाई व्यवस्थापन गरी पालिकाले आफ्नो कार्यालयको काम सञ्चालन गर्दै आएको थियो । अब पालिकाको केन्द्र नै सोही ठाउँमा हुने भनी तोकिएपछि अरु संरचना पनि निर्माण गरी पालिकाको केन्द्र औपचारिक रुपमा वनटारबाटै सञ्चालन हुनेछ ।

स्थानीय तहको अभ्यास भएको १० बर्षसम्म पनि केन्द्र जस्तो आधारभूत कुरा पनि विवादमा अल्झिरहनु दुखद र नेतृत्वको असफलता देखिन्छ । त्यसैले यस्तो विवाद साम्य गर्नु जिम्मेवार नेतृत्व सबैको दायित्व हो ।अब जिल्लाका ११ वटै पालिकाको केन्द्रसम्बन्धी विवाद सबै साम्य भएका छन् ।

अवको केही महिनामा स्थानीय तह सञ्चालन हुन थालेको १० बर्ष पुग्दैछ । १० बर्षको यो अवधिमा विभिन्न अल्झनहरुले गर्दा पालिकाका केन्द्रको ठेगान नभए पनि अब १० बर्ष पुगेपछि भने सबै साम्य हुने भए । यो सुखद पक्ष हो ।
अरु सातवटा पालिकाका प्रशासकीय भवन बनेर पनि औपचारिक रुपमा सञ्चालन भइसके पनि गण्डकी, सिरानचोक, धार्चे र चुमनुब्री गाउँपालिकाका प्रशासकीय भवन बन्न बाँकी छन् । अब यी चार वटा पालिकाले पनि छिट्टै प्रशासकीय भवनका पक्की संरचना पाउन् । यसमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौं

प्रतिक्रिया दिनुहोस्