
अजिरकोटको मुलखर्क रनब्लुमा स्याउ लटरम्म
यतिबेला गोरखाको अजिरकोट गाउँपालिका २ खरिबोटमा लगाइएको स्याउ लटरम्म फलेको छ । अजिरकोट गाउँपालिका वडा नं २ को २२०० मिटर उचाइमा अवस्थित मूलखर्क र नब्लूका स्याउ फर्ममा लगाइएको स्याउ लटरम्म फलेको हो ।
बगैँचामा स्याउ राताम्मै फलेको मूलखर्क जडिबुटी तथा स्याउ फर्मका संचालक सञ्जिव तामाङ(भिटेन)ले बताए । भदौको दोस्रो हप्ताबाट स्याउ टिप्न सुरु गर्ने उनको भनाइ छ । गतबर्ष दुवै फर्ममा गरी करिब तीनहजार केजी स्याउ उत्पादन भएको थियो । ‘पोहोर उत्पादन भएका स्याउमध्ये ८० प्रतिशत स्थानीय बजारमा नै बिक्री भयो । बाँकी २० प्रतिशत जति काठमाडौँ र पोखरामा पठाइयो’ उनले भने, ‘हाम्रो अर्गानिक उत्पादन भएकाले बजारमा आउने स्याउको भन्दा मूल्य अल्लि बढि नै हुन्छ, त्यसैले बजारमा प्रतिस्पर्धा गर्न कठिन छ ।’
गतबर्ष फर्ममै पुग्ने ग्राहकलाई प्रतिकेजी रु ३०० र बाहिर खुद्रा बेच्दा प्रतिकेजी रु ३५० मा स्याउ बिक्री वितरण गरेको लामाको भनाइ छ । गाउँपालिकाले आर्थिक बर्ष तीनबर्ष अघि स्याउको बगैँचा निर्माणमा ५० प्रतिशत अनुदान र विरुवा खरिदमा सतप्रतिशत अनुदान दिएको गाउँपालिकाको कृषि शाखा प्रमुख शम्भु थापाले जानकारी दिए । ‘स्याउको विरुवामा सतप्रतिशत र वगैँचाको संरचना निर्माणमा ५० प्रतिशत अनुदान दिएका थियौँ’, उनले भने, ‘दुवै किसानलाई तीन–तीनसय वटाका दरले विरुवा दिएका थियौँ । उत्पादन दिन थालेको दुई बर्ष भयो ।’
उनीहरुलाई गाउँपालिकाले इटलीबाट ल्याएको फुजी, रेड डेलिसियस र गाला जातको स्याउ परीक्षणका रुपमा वितरण गरेको थियो । अघिल्लो बर्ष करिब २२० बोटले मात्र उत्पादन दिएको उनले बताएका छन् । यसबर्ष भने सबै बोटमा फल लागेका छन् । भिटेनसँगै अका स्थानीय भीमबहादुर तामाङले पनि तीनसय वटा विरुवा रोपेका थिए ।
दुवै फर्ममा लगाइएको स्याउका बोटहरुले यो वर्ष राम्रो फल दिएको पालिकाका कृषि विकास अधिकृत शम्भु थापाले बताए । ‘तीन वर्षअघि परीक्षणका रुपमा लगाएको स्याउ पोहोरदेखि दुवै फर्ममा फल्न थालेका छन् । यसलाई परीक्षण सफल भएको मानेका छौँ’ उनले भने, ‘परीक्षण सफल भएसँगै व्यवसायिक स्याउ खेतीको क्षेत्र बिस्तार गर्ने योजना पालिकाको छ ।’ पालिकाको वडा नं १ र २ स्याउ खेतीका लागि उपयोगी रहेको उनले जानकारी दिए ।
पालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा पनि व्यवसायिक स्याउ खेती कार्यक्रमलाई प्राथमिकतामा राखेको कृषि शाखा प्रमुख शम्भू थापाले बताएका छन् ।




