| बिहिबार, भदौ ३, २०८३

प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचित कार्यकारी हुँ भन्ने भ्रम देखियो: पूर्वप्रधानमन्त्री भट्टराई

प्रधानमन्त्री बालेन्द्र शाहमा आफू प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुँ भन्ने भ्रम देखिएको पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले टिप्पणी गरेका छन् । गृहजिल्ला गोरखाका पत्रकारहरुसंग कुराकानी गर्दै डाक्टर भट्टराईले प्रधानमन्त्रीले भ्रमहरु चिर्दै बाहिर निस्कन सुझाव दिएका छन् ।

‘उहाँलाई थोरै भ्रम के प¥यो जस्तो लाग्यो भने, उहाँमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुँ भन्ने सोच्दै हुनुहुन्छजस्तो देखियो’, डाक्टर भट्टराईले भने, ‘हामी त संसदले प्रधानमन्त्री छान्ने प्रणालीमै छौँ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा गइसकेका छैनौँ । सायह उहाँ यसमा भ्रमित हुनुभयो र संसदप्रति जवाफदेही हुनुपर्दैन, आफ्नो ढंगले अगाडि जाँदा हुन्छ भन्ने सोच्नु भयो होला ।’ आफूहरुले पनि बेलाबेला सम्झाइरहेको डाक्टर भट्टराईले बताए ।

‘उहाँ सायद भ्रममा हुनुहुन्छ कि जस्तो लागेर हामीले बाहिर पनि अलिअलि भन्यौँ । उहाँमा पनि पछिल्लो चरणमा वोध भयो होला । अव सायद उहाँ संसदमा जानु हुनेछ । सांसदहरुको कुरा पनि सुन्नुहुनेछ । जवाफदेही हुनुहुनेछ’, डाक्टर भट्टराईले भने, ‘केही दिनअघि सभामुखले पनि रुलिङ गर्नुभएको छ । सायद सल्लाहले नै होला सभामुखले रुलिङ गर्नुभएको जस्तो लागेको छ ।’ अब प्रधानमन्त्रीमा अरुको कुरा पनि सुन्नुपर्छ भन्ने भावना पैदा भएको हुनसक्ने अनुमान पूर्वप्रधानमन्त्री भट्टराईले गरे ।

विगतमा विदेशका जोकोहीले बेला कुबेला प्रधानमन्त्रीलाई भेट्ने र आफ्ना कुराहरु लाद्ने परिपाटी भएकाले अहिलेका प्रधानमन्त्रीले त्यसलाई व्यवस्थित बनाउने प्रयास गरेको भट्टराईको टिप्पणी छ । ‘यो देशबाट, त्यो देशबाट भन्दै ऐरेगैरे जोकोही आछ, राति नि भेटेको छ दिउसो नि भेटेको छ । त्योचाहिँ एउटा पराकाष्टा भएको थियो’, भट्टराईले भने, ‘सायद त्यसैबाट वाक्कदिक्क भएर कसैसंग एक्लै भेट्दिन, सामुहिक भेट्छु भन्नुभएको होला । त्यो ठिकै पनि थियो । तर फेरि कुटनीति भनेपछि छिमेकीहरुसंग अल्लि धेरै, त्यसपछि ठूला शक्तिकेन्द्रहरुसंग पनि गर्नुपर्ने हुन्छ । त्यसपछि अरु मुलुकहरुसंग गर्नुपर्ने हुन्छ । त्यो प्राथमिकता मिलाउन उहाँको अल्लि ध्यान नपुगेको हो । अहिले बिस्तारै सिक्दै गएको देख्छु ।’ अहिले भेटघाट गर्न थालेकोप्रति सन्तुष्टि व्यक्त गर्दै उनले अपारदर्शी भेटघाट गर्न नहुने उनको सुझाव छ ।

राजनीतिक जनादेशबाट बनेको संविधान आवधिक मतादेशबाट आएकाहरुले पुनर्लेखन गर्नु अनुचित हुने पूर्वप्रधानमन्त्री डाक्टर भट्टराईको तर्क छ । ‘संविधान निर्माण गर्न राजनीतिक जनादेश लिएको निकायले बनाएको संविधान पाँच बर्षका निम्ति मतादेश लिएर आएकाहरुले पुनर्लेखन गर्नु हुदैन’, उनले भने, ‘पाँच बर्षका निम्ति आउने मान्छेले पचासौं, सयौं बर्षका निम्ति बनेको संविधान पुनर्लेखन गर्ने हैसियत पनि हुन्न, गर्नु पनि हुन्न । उहाँहरुले नबुझेर यो विषय उठाउनु भएको हुनसक्छ । संविधानलाई धेरै चलाउनु हुदैन । संसारभरि कहीँ त्यस्तो अभ्यास पनि छैन ।’ संविधान बनाएका व्यक्तिहरु नै अहिले त्योभन्दा पछाडि फर्केको देखेर दिक्क लागेको डाक्टर भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्