
उत्तरी गोरखाकी घाइते महिलाको हेलिकोप्टरबाट उद्धार
रुखबाट लडेर घँइते भएकी उत्तरी गोरखाकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको छ । घाँस काट्न रुख चढ्दा लडेर गम्भीर घाइते भएकी धार्चे गाउँपालिका वडा नं. २ केरौंजाकी ५५ बर्षकी कान्छी गुरुङलाई मंगलबार हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको स्थानीय अर्जुन गुरुङले जानकारी दिनुभयो ।
घाँस काट्ने क्रममा रुखबाट लडेकी उनको टाउकोमा गम्भीर चोट लागेको गुरुङले बताउनुभयो । ‘मान्छे टाउकोमा चोट लागेर घाइते भएको छ । यो झरीमा पहिरोले सडक ठाउँठाउँमा अवरुद्ध भएर केरौंजाबाट गाउँपालिकाको केन्द्र माछाखोलासम्म एम्बुलेन्स लैजान पनि सकिएन’, गुरुङले भन्नुभयो, ‘अनि माछाखोलाबाट आरुघाट, गोरखा बजार अथवा काठमाडौं लैजान सडक अवरुद्ध भएर एम्बुलेन्स पनि नचल्ने भएकाले हेलिकोप्टरबाट उद्धार गरिएको हो ।’
घाइतेको आर्थिक अवस्था ज्यादै कमजोर भएकापनि दुईलाख ३५ हजार खर्चेर हेलिकोप्टर चार्टर गरेको उहाँको भनाइ छ । हाल घाइतेको काठमाडौंको ग्रिनसिटी अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको स्थानीयहरुको भनाइ छ । उत्तरी गोरखाका कतिपय गाउँमा सडक सञ्जाल नपुग्दा र सडक सञ्जाल पुगेको ठाउँमा पनि पक्की सडक नभएकाले महंगो खर्च गरेर हेलिकोप्टरबाट चार्टर गर्नुको विकल्प नभएको स्थानीयबासीको गुनासो छ ।




