
सर्दिभीरको क्याण्टिलिभर पुलको तत्काल मर्मत गर
उत्तरी गोरखाको कठिन भौगोलिक बनावट र त्यहाँका बासिन्दाले भोग्नुपरेको सास्ती नयाँ विषय होइन । दूरदराजका नागरिक आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र विकासका पूर्वाधारबाट मात्र होइन, सुरक्षित रूपमा हिँडडुल गर्न पाउने अधिकारबाट समेत वर्षौँदेखि वञ्चित रहँदै आएका छन् ।
चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङको बिचमा पर्ने सर्दीभीरको क्याण्टिलिभर पुल पहिरो र माथिबाट खसेको ढुंगाका कारण जीर्ण बनेको । भीरको अक्करमा अड्याइएको सो पुलको डेक कुच्चिनुका साथै आड भरोसा दिने रेलिङहरू चुँडिएका, च्यातिएका छन् । यसले गर्दा स्थानीयवासी, विशेष गरी बालबालिका, वृद्धवृद्धा र कमजोर मन भएका यात्रुहरूका लागि सो बाटो भएर यात्रा गर्नु अत्यन्त जोखिमपूर्ण र त्रासद् बनेको छ । ज्यान हत्केलामा राखेर यात्रा गर्नुपर्ने बाध्यता उत्तरी गोरखाबासीको नियति जस्तै बनेको छ, जुन राज्यका लागि लज्जास्पद विषय हो ।
दसैँ–तिहार जस्ता ठूला चाडपर्वहरू नजिकिँदै छन् भने पर्यटकीय सिजन पनि सुरु हुँदैछ । यो समयमा सो पैदल मार्ग भएर स्थानीय बासिन्दाको आउजाउ बाक्लो हुनेछ भने स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल पनि उल्लेख्य रूपमा बढ्नेछ । यसरी दैनिक सयौँ मानिसहरू हिँड्ने संवेदनशील मार्गको मुख्य पुल नै धरापमा रहिरहनु ठूलो दुर्घटनालाई निम्तो दिनु हो ।
पर्यटन क्षेत्र गोरखाको अर्थतन्त्रको बलियो आधार हो । यदि समयमै यो पुलको मर्मत गरिएन भने यसले पर्यटकको सुरक्षामा गम्भीर प्रश्न उठाउने मात्र नभई समग्र पर्यटन उद्योग र स्थानीयको जनजीवनमा समेत नकारात्मक असर पार्ने निश्चित छ । अब पनि कुनै अप्रिय दुर्घटना घटेपछि मात्रै ब्युँझिने सरकारी कार्यशैली दोहोरिनु हुँदैन ।
तसर्थ, सम्बन्धित चुमनुब्री गाउँपालिका, प्रदेश सरकार, पूर्वाधार विकास कार्यालय तथा माथिल्लो निकायको ध्यान तत्काल यस विषयतर्फ आकर्षित हुन आवश्यक छ । प्राविधिक टोली खटाएर सर्दीभीरको क्याण्टिलिभर पुलको यथाशीघ्र मर्मत–सम्भार गरियोस् ।




