| बुधबार, भदौ २, २०८३

सर्दिभीरको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण, यात्रुलाई आवतजावत गर्न जोखिम

प्रतीक्षा आले

गोरखा भूकम्पपछि पहाड खोपेर बनाइएको सर्दिभीरको क्याण्टिलिभर पुल यो बर्खामा ढुङ्गा खसेर जीर्ण बनेको छ । चुमनुब्री गाउँपालिका(६, लोक्पास्थित सर्दिभीरको क्यान्टीलिभर पुल जीर्ण भएपछि वडा नं. ६ र ७ का बासिन्दालाई आवत जावत गर्न जोखिम भएको । केही दिनअघि पहाडको माथिबाट ढुङ्गा खसेर क्यान्टिलिभर पुलमा क्षति पुगेको लोक्पाका सेराप गुरुङले जानकारी दिए ।

ठूला ढुङ्गा खसेर पुल छेउका केही जीपहरु भत्किएको चुमनुब्री ६ का कार्यबाहक वडाअध्यक्ष ठिले ग्याम्जो लामाले बताए । साथै, पुललाई आड दिएका ढुङ्गाहरु पनि भत्किएको उनले जानकारी दिए । ‘३, ४ दिनअघि ढुङ्गा खसेर पुलको डेक, छेउको रेलिङमा प्रयोग भएको तारजालीमा क्षति भएको छ । त्यो भन्दा अगाडि पनि बेला बेला यसरी नै ढुङ्गा खस्ने समस्या भैरहन्छ’, उनले भने, ‘अब पर्यटक आवतजावत गर्ने सिजन सुरु हुन लाग्यो । चाडपर्व पनि सुरु हुन लाग्यो । मान्छेहरु धेरै हिड्नु पर्छ । त्यसैले पुल जतिसक्दो छिटो मर्मत गर्न गाउँपालिकाले पहल गर्नुपर्छ ।’ वडाको बजेटले मर्मत गर्न नसक्ने हुँदा पालिकाले नै मर्मत खर्च व्यहोर्नुपर्ने उनको भनाइ छ ।

सर्दिभीरमा निर्माण गरिएको क्यान्टिलिभर पुल उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ चुम्लिङ र वडा नं ७ छेकम्पारका गाउँबस्ती पुग्ने एकमात्र साहारा हो । समयमा पुल मर्मत नगरे चुम उपत्यकाका बासिन्दाहरुलाई समस्या हुने चुम्लिङका गोपाल लामाले बताए । ‘यो पुल नबन्ने हो भने गाउँपालिका को केन्द्र फिलिम पुग्न हामीलाई अर्को एकदिनको बाटो घुमेर झर्नुपर्छ । अरुभन्दा पनि बिरामी भयो, घाइते भयो भने हामीलाई पिडामाथि पिडा थपिन्छ’, उनले भने । ढुङ्गा खसेर चुमनुब्री(७ छेकम्पारको चौरीखर्क खण्ड पनि जोखिमपूर्ण बनेको स्थानीय गोपाल लामाको भनाइ छ ।

छेकम्पार पुग्न चौरी खर्कको भीर हुँदै जानुपर्छ । निरन्तर बाटो माथिबाट ढुङ्गा खस्ने समस्याले चौरीखर्कमा लगाइएका तारबार भत्किएको स्थानीयहरुको गुनासो छ । यतिबेला छेकम्पारलाई तिब्बतसँग जोड्ने ङुइला नाका खुलेको छ । नाका खुलेको मौकामा स्थानीयहरुले तिब्बती सिमानामा पुगेर दैनिक उपभोग्य सामाग्रीहरु खरिद बिक्री गर्ने गरेका छन् । तर, ठाउँ ठाउँका सडकखण्ड जोखिमपूर्ण बनेकाले आवतजावतमा समस्या भएको चुमनुब्री ६ लोक्पाका सेराप लामाले बताए ।

स्थानीयहरु जोखिम मोलेर आवतजावत गर्न बाध्य भएको उनले गुनासो गरे । ‘बिस्तारै पर्यटकको सिजन पनि सुरु हुन्छ । समयमा नै पुल, बाटोघाटो मर्मत भएन भने पनि ठुलो क्षति हुनसक्छ’, उनले भने । सर्दिभीरको क्यान्टीलिभर पुल मर्मतका लागि चुमनुब्री गाउँ पालिकाले बजेट बिनियोजन गरिसकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । गाउँसभाको बैठकले निर्णय गरेर पुल मर्मतका लागि १५ लाख रुपैँया बिनियोजन गरेको उनले जानकारी दिए । ‘त्यहाँको अवस्था जोखिमपूर्ण नै छ । अहिले मानिस र खच्चडहरु जोखिम मोलेर ओहोर दोहोर गरिरहेका छन्’, उनले भने, ‘अबको केही दिनभित्र पुल मर्मतको काम सुरु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्