
नागरिक खोज्दै सेवा दिने धार्चेको प्रयास सकारात्मक
गोरखाको धार्चे गाउँपालिकाले सहरी क्षेत्रमा बसोबास गर्दै आएका आफ्ना पालिकावासीका लागि गोरखा सदरमुकाममै पुगेर सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण शिविर सञ्चालन गर्ने जुन निर्णय गरेको छ, त्यो अत्यन्तै व्यावहारिक र प्रशंसनीय छ ।
आगामी भदौ १५ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त शिविरले गोरखा बजार, काठमाडौँ, पोखरा, चितवनलगायतका सहरी क्षेत्रमा बसोबास गर्दै आएका विशेष गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाहरूलाई ठूलो राहत पु¥याउने निश्चित छ । सामान्य नवीकरणकै लागि काठमाडौ, चितवन, पोखरा तथा गोरखा बजारदेखि उकाली ओराली गर्दै गाउँसम्म पुग्नुपर्ने सास्तीलाई हटाएर स्थानीय सरकारले नागरिककै सुगम पहुँचमा सेवा पु¥याउनु भनेको सिंहदरबारको अधिकार मात्र होइन, सिंहदरबारको सेवा नै घरदैलोमा पुगेको एउटा प्रत्यक्ष उदाहरण हो ।
आजको युगमा शिक्षा, रोजगारी, स्वास्थ्य र अन्य अवसरको खोजीमा गाउँबाट सहरी क्षेत्रमा अस्थायी वा स्थायी बसाइँसराइ गर्नु समयको स्वाभाविक माग भइसकेको छ । बदलिँदो समयसँगै नागरिकको जीवनशैली र बसोबासको ढाँचा परिवर्तन भइरहँदा सार्वजनिक प्रशासन र सेवा प्रवाहको शैलीमा पनि सोहीअनुरूप परिवर्तन आउनु अनिवार्य छ ।
कार्ड नविकरणमात्र होइन, नागरिकहरू जहाँ भए पनि सिफारिस, व्यक्तिगत घटना दर्ता र कर भुक्तानीजस्ता सेवाहरू सजिलै लिन सकून् भन्नाका लागि अनलाइन प्रणालीलाई थप सहज र पहुँचयोग्य बनाइनुपर्छ । कार्यालयको चारभित्ताभित्रबाट मात्र सेवा दिने परम्पार तोड्दै धार्चे गाउँपालिकाको यो पछिल्लो लचकदार र जनमुखी प्रयास अन्य स्थानीय तहका लागि पनि एउटा सिक्नयोग्य नजिर बनेको छ ।
स्थानीय सरकार भनेको केवल भौतिक भवन वा सीमाभित्र बाँधिएको भूगोल मात्र होइन, यो त जहाँ नागरिक छन्, त्यहीँ उपस्थिति जनाउने खम्बा हो । समयको परिवर्तनलाई स्वीकार्दै नागरिकका आवश्यकता र असुविधालाई पहिचान गरेर सेवा विस्तार गर्नु नै आजको शासकीय सुधारको मुख्य मर्म हो ।
धार्चेको यो सकारात्मक कदमलाई निरन्तरता दिँदै आगामी दिनमा प्रविधि र व्यवहारको प्रयोगमार्फत थप आधुनिक, चुस्त र नागरिकमैत्री कार्यक्रमहरू ल्याउन अन्य स्थानीय सरकारहरूले पनि हिचकिचाउनु हुँदैन ।




