
शिविरमार्फत चेपाङ वृद्धवृद्धाको भत्ता कार्ड नविकरण
अल्पसंख्या तथा सीमान्तकृत चेपाङ समुदायको सुविधालाई मध्यनजर गरी गोरखाको गण्डकी गाउँपालिकाले शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण गरेको छ । चेपाङ समुदायको धेरै बसोबास रहेको वडा नं. ७ का विभिन्न गाउँबस्तीमा वडा कार्यालयले चार जना कर्मचारी खटाएर शिविर सञ्चालन गरेको हो । तीन दिनसम्म सञ्चालन हुने शिविर बिहिबारबाट सुरु भएको वडा अध्यक्ष तुलसी रेग्मीले जानकारी दिए ।
‘चेपाङ समुदायको बाहुल्यता रहेका ज्यामिरघाट, इर्लुङ, महादेवटार, श्रीकृष्णचोक, बडहरे, चुर्लिङ, छापगाउँ, चैनपुरमा शिविर सञ्चालन गर्दैछौं’, वडाअध्यक्ष रेग्मीले भने, ‘आजबाट सुरु भएको हो । आइतबार समापन हुनेछ । शिविरमा भत्ता पाउने सेवाग्राहीको कार्ड नविकरण हुन्छ ।’ शिविरमा कार्ड नविकरण गर्न छुटेकाहरुले पछि वडा कार्यालयमै आएर पनि नविकरण गर्न सक्ने उनले बताए ।
साथै वडा कार्यालयमा पनि दुईजना कर्मचारी रहेकाले आसपासका सेवाग्राहीले वडा कार्यालयमै आएर सेवा लिने व्यवस्था मिलाएको उनले बताए । शिविरमा गाउँका योजनाहरुको उपभोक्ता समिति गठन गर्ने र प्राविधिक कर्मचारीहरु समेत सहभागी भएकाले योजना स्टमेट गर्ने काम पनि साथसाथै भएको वडाअध्यक्ष रेग्मीले बताए ।
चुर्लिङ, छापगाउँ लगायतका गाउँबस्तीबाट वडा कार्यालय आइपुग्न दुईघण्टाभन्दा धेरै समय लाग्ने भएकाले शिविर सञ्चालन गरिएको उनको भनाइ छ । शिविर टोलीमा वडाअध्यक्ष रेग्मी पनि संगसंगै हिडेका छन् । गोरखाको गण्डकी गाउँपालिकाको वडा नं. १, ३, ६, ७ र वडा नं. ८ मा चेपाङ समुदायको बसोबास छ । साथै सहिदलखन गाउँपालिकाको वडा नं. ४ र ५ मा पनि चेपाङ समुदाय बसोबास गर्छन् ।




