
पूर्वाधार कार्यालयद्वारा गत आर्थिक बर्षमा ६ वटा मोटरेबल पुल बनायो
पूर्वाधार कार्यालय गोरखाले गत आर्थिक बर्ष २०८२/०८३ मा ६ वटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको छ । पाँच करोडभन्दा धेरै बजेट भएका चारवटा र पाँच करोडभन्दा कम बजेटका दुई मोटरेबल पुल निर्माण सम्पन्न गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले पाँच करोडभन्दा धेरै बजेट भएको नयासाँगुस्थित दरौंदी नदी पुल निर्माण सम्पन्न गरेको छ । त्यस्तै गोरखा नगरपालिका र सहिद लखन गाउँपालिका जोड्ने लुदीखोला पुल पनि निर्माण सम्पन्न गरेको छ ।
त्यस्तै कार्यालयले पालुङ्टार नगरपालिका वडा नं. ९ स्थित तल्लोसेरा र माथिल्लोसेरा जोड्ने चुक्तीखोला पुल र धार्चे गाउँपालिका ७ स्थित नौलीखोला मोटरेबल पुल पनि निर्माण सम्पन्न गरेको पूर्वाधार कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए । त्यस्तै यसैबर्ष गोरखा नगरपालिका वडा नं.१४ को सलाङगिरी र पालुङटार नगरपालिका वडा नं. ८ रातामाटे जोड्ने सिलीखोला पुल र कटजाले–नयाँगाउँ जोड्ने तादीखोला पुल पनि यही बर्ष निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले जानकारी दिए ।
अघिल्लो बर्ष जम्मा तीनवटा मोटरेबल पुल निर्माण सम्पन्न गरेकामा गतबर्ष ६ वटा पुल निर्माण सम्पन्न गरेको हो ।
पूर्वाधार विकास कार्यालय गोरखाले गत आर्थिक बर्ष २०८२/०८३ मा ८३.२ प्रतिशत वित्तीय प्रगति गरेको जनाएको छ । कूल एक अर्ब ६५ करोड १७ लाख रुपैयाँ बजेट प्राप्त भएकामा एक अर्ब ३७ करोड ५५ लाख रुपैयाँ खर्च भएको कार्यालयको अभिलेखमा उल्लेख छ ।
चालुतर्फ एक करोड ८८ लाख ९७ हजार रुपैयाँ प्राप्त भएकामा एक करोड ११ लाख ८८ हजार रुपैयाँ अर्थात ५९.२१ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ । त्यस्तै पुँजीगततर्फ एक अर्ब ६३ करोड तीनलाख ५० हजार रुपैयाँ बजेट प्राप्त भएकामा एक अर्ब ३६ करोड ४३ लाख ६९ हजार अर्थात ८३.६९ प्रतिशत बजेट खर्च भएको कार्यालयले जनाएको छ ।




