
गोरखा नगरबासीलाई गोरखा अस्पतालमा आधारभूत उपचार निःशुल्क
गोरखा नगरपालिकाले नगरबासीका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने गरी प्रदेश अस्पताल गोरखासँग सम्झौता गरेको छ । नगरपालिका र प्रदेश अस्पताल गोरखा बीच बिहिबार दुई पक्षीय सम्झौता भएको हो । सम्झौताअनुसार गोरखा नगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्ति र नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई परिचय खुल्ने सरकारी कागजपत्रको आधारमा प्रदेश अस्पतालबाट स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।
सेवा प्रवाहका लागि १ जना डाक्टर, १ जना हेल्थ असिस्टेण्ट र फार्मेसी सञ्चालनका लागि १ जना फार्मेसी सहायक जनशक्ति नगरपालिकाले उपलब्ध गराउने जनाएको छ । यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ४७ लाख १६ हजार ४४४ रुपैयाँ बजेट विनियोजन गरेको छ । निःशुल्क स्वास्थ्य सेवा अन्तर्गत नेपाल सरकारले जारी गरेको ९८ प्रकारका औषधी, १८ प्रकारका प्रयोगशाला सेवा र १० प्रकारका अन्य सेवा समावेश छन् ।
त्योभन्दा अन्य सेवाको भने शुल्क तिर्नुपर्नेछ । यसमा सामान्य शल्यक्रिया, हाडजोर्नी प्लास्टर, एक्सरे, नेबुलाइजेसन, बिरामी भर्ना, ड्रेसिङ र घाउको सिलाई जस्ता सेवा पर्छन् । त्यस्तै पालिकाको सिफारिसमा अस्पतालमा हुने विशेष शल्यक्रियामा पनि नगरबासीलाई छुट दिइनेछ । अस्पतालबाट जारी हुने ओपिडी, इमर्जेन्सी टिकट तथा अस्पतालले निर्धारण गरेको अन्य सेवा पनि निःशुल्क उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा नगरपालिकाका तर्फबाट नगर प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र स्वास्थ्य शाखाका कर्मचारी तथा अस्पतालका तर्फबाट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र मेसुको उपस्थिति थियो ।




