| बिहिबार, साउन २७, २०८३

वैदेशिक रोजगारी ठगी आरोपमा गोरखाका रमेश धमलासहित तीनजना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले गोरखाका रमेश धमलासहित तीनजनालाई पक्राउ गरेको छ । गोरखा आरूघाट गाउँपालिका ५ घर भई काठमाडौं तारकेश्वर नगरपालिका ४ बस्ने ३१ वर्षीय धमलालाई काठमाडौं महानगरपालिका २६ बाट मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यसैगरी गेट्सबाई इन्टरनेशनल कन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत महालक्ष्मी नगरपालिका ७ ललितपुर बस्ने २९ वर्षीय प्रतिक बुढाथोकी, ललितपुर महानगरपालिका २ बस्ने महालक्ष्मी नगरपालिका १० घर भएका ३९ वर्षीय सन्त बहादुर लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जापान पठाइदिन्छु भन्दै ११५ जना पीडितहरूबाट २ करोड ८० लाख रूपैयाँ ठगी गरेको प्रतिक बुढाथोकीमाथि आरोप छ । त्यस्तै मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ ठगी गरेको सन्त बहादुरमाथि आरोप छ । प्रतिकलाई सोमबार रूपन्देही बुटवलबाट र सन्त बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका १० बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्