
भवन निर्माणमा देशको ढुकुटीको दोहन भएकोप्रति सांसद बुर्लाकोटीको चिन्ता
गोरखाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कविन्द्र बुर्लाकोटीले जिल्लाभित्र भवन निर्माणका नाममा राज्यको ढुकुटी दोहन भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका प्रमुख सचेतक समेत रहेका बुर्लाकोटीले प्रतिनिधिसभा संसदको विशेष समयमा बोल्दै जनताको करबाट संकलन भएको ठूलो रकम विभिन्न भवन निर्माणमा प्रयोग भएको तर भवन प्रयोगविहिन भइरहेको बताए ।
‘आम जनताले तिरेको करबाट गोरखा पालुङ्टार नगरपालिका वडा नं. ७, बिरुवाटारमा करिब ९ करोड लागतमा चार–पाँच वर्ष अगाडि तीनवटा ठूला भवन निर्माण गरियो । तर अहिले सम्म अलपत्र र असुरक्षित छ । सुरक्षाको अभावले सामानहरू चोरी भएका छन्’, उनले भने, ‘त्यसैगरी गोरखा नगरपालिका १० छेवेटारमा करिब आठ करोड लागतमा एउटा वृद्धाश्रम मोडलको भवन बनाइयो । तर त्यो पनि केही वर्षदेखि लेउ लागेर अलपत्र छ ।’
सो भवन निर्माण लामो समयसम्म अलपत्र भएपछि केही दिनअघि मात्र मानव सेवा आश्रमले वृद्धाश्रमका रुपमा सञ्चालन गर्ने समझदारी भएको छ । उनले जिल्लाका विभिन्न अन्य भवन पनि अलपत्र भएकोतर्फ संसदको ध्यानाकर्षण गरेका छन् । ‘पालुङटार नगरपालिका वडा नं. ९ बिर्दीको वन छेउमा केही वर्ष अगाडि करोडौँ खर्च गरी कोल्ड स्टोर भनेर ठूलो भवन बनाइयो । र त्यो पनि अलपत्र छ’, उनले भने, ‘यी नमुना उदाहरणहरू मात्र हुन् । गोरखामा मात्र होइन जनताले तिरेका करबाट देशैभर बनेका यस्ता संरचनाको समयमै सदुपयोग होस् । सार्वजनिक सम्पत्तिको सुरक्षा होस् भनी सम्बन्धित पालिका, प्रदेश सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’




