| शुक्रबार, साउन २१, २०८३

खाना पकाउने ग्यास पाउनै सास्ती, बाध्यतामाथि कालोबजारी

प्रतीक्षा आले

कसैलाई माथैमाथ, कसैको पुर्पुरामा हात
तीनधारेकी सुकुमारी गुरुङ ग्यासको सिलिण्डर साँट्न बसपार्कस्थित ग्यास डिपोमा आएको तीन दिन भयो । पहिलो दिनमा उनलाई साहुजीले भोलिपल्ट सोही समयमा आउन भने । आज्ञाकारी भई उनी भोलिपल्ट साहुजीले भनेकै समयमा ग्यासको लाइन बस्न आइपुगिन् । लाइन बस्दा बस्दै भरि ग्यास सिलिण्डर सकियो । उनलाई ग्यासको कुपन दिएर पुनः भोलिपल्ट सोही समयमा आउनु भनेर फिर्ता पठाइदिए ।

अरु विकल्प थिएन त्यसैले साहुजीले भनेजस्तो सुकुमारी बिहीबार पनि ठ्याक्कै चारबजे गोरखा बसपार्कस्थित ग्यास सप्लायर्स (गणेश भाडा पसल)मा आइपुगिन् । तर, बिहीबार पनि उनले ग्यास पाउने सुरसार देखिनन् । ‘फेरि भोलि(शुक्रबार) बिहान ६ बजे नै आउनु भनेको छ, के गर्नु खानु परेको छ । त्यसैले जे भन्यो त्यही मान्नै परिहाल्यो’, उनले भनिन् । आफ्नो कोठामा खाना पकाउने ग्यास सकिएपछि छिमेकीको भान्सामा गएर खाना बनाउन बाध्य भएको उनले दुखेसो गरिन् ।

गोरखा बसपार्क बस्ने सस्मिता मास्केको समस्या पनि उस्तै छ । घरमा ग्यास सकिएको पनि झन्डै हप्ता दिन जति भयो । त्यसयता उनले खाना पकाउन विद्युतीय चुलोको प्रयोग गर्दै आएकी छिन् । तर, विद्युतीय चुलो ग्यासचुलो जस्तो सरल छैन् । त्यसमा सबै भाँडा मिल्दा पनि मिल्दैन । झनै, बर्खाको बेला छ, बेला कुबेला विजुली गैरहन्छ । लाइन जाँदा उनको घरमा खाना पाक्दैन । ‘सिलिण्डर ग्यास त नभै हुन्न । इन्डक्सन, राइस् कुकर् लाइन जाँदा कामै छैन’, उनले भनिन्, ‘बच्चाहरु स्कुल जाने बेलामा लाइन जाँदा खाना खानै पाउँदैनन् । हामी ठूलोलाई पनि उस्तै झन्झट ।’

सुकुमारी र सस्मिता जस्तै निरमाया छन्त्याल, सर्मिला घिसिङ र माया विक पनि दिनहुँ ग्यास पाउने आशमा बसपार्कको गणेश भाडा पसलमा दिनहूँ धाउने गर्छन् । तर, सँधै लाइन बस्दै फर्कदै गर्नु परेको उनीहरुको दुखेसो छ । कसैलाई माथैमाथ, कसैलाई पुर्पुरामा हात भनेझै कतिपय एकजनाले तीन, चारवटा ग्याँस सिलिण्डर साँटेर लगेकाले अभाव सिर्जना भएको ग्यास नपाएकाहरुको गुनासो छ । ‘एकजनाले नै तीन–चार वटा सिलिण्डर ग्यास लिएर जान्छन्, अनि कहाँ सबैजनालाई पुग्छ त ? अभावको बेलामा त एकले एउटा सिलिण्डर मात्र लगे के हुन्छ ?’, ग्यासको लाइनमा बसेकी सर्मिला घिसिङले भनिन्, ‘कसैलाई माथैमाथ कसैलाई पुर्परामा हात भनेझै भएको छ ।’

गोरखा बजारमा भाडामा बस्ने उनको खाना पकाउने ग्यास सकिएको तीनदिन भयो । ग्यास सकिएदेखि छिमेकीसँग तरकारी मागेर छाक टार्ने गरिरहेकी छिन् उनले । ‘खाना राइस कुकरमा बनाएका छौँ, तरकारी यताउता मागेर छाक टार्नु परेको छ’, उनले भनिन् । गोरखाका लागि बसपार्कको गणेश भाडा पसल र हरमटारीको गोरखा बिजनेस सेन्टर खाना पकाउने ग्यासका सप्लायर्सहरु हुन् । दुवै सप्लायर्समा ग्यास झार्न नपाउँदै किन्ने मानिसहरुको घुँइचो लाग्ने गरेको उनीहरु बताउँछन् ।

‘ग्यास पसलभित्र पनि ल्याउन पाउँदैनाँै, मान्छेहरु बाहिरै धुँइचो लागेर हाताहाती किनेर जान्छन्’, गणेश भाडा पसलकी संचालकले भनिन्, ‘बिहान उठ्न नपाउँदै मान्छेहरु पसल अगाडि लाइन लाएर बस्छन्, एकजनालै नै ३, ४ वटा सिलिण्डर उठाएपछि अरुले पाउँदैनन् ।’ आफूहरुले होलसेल मूल्यमा सिलिण्डर ग्यास बिक्री गरिरहेको उनले दाबी गरिन् ।
उनको पसल बाहिर लाइनमा बसेकाहरुले भने पसलेले ग्यासको मूल्य २१६५ सुनाएको बताए । साहुजीले भोलिपर्सि झनै मूल्य बढेर आउन सक्ने भनेको पनि उनीहरुले जानकारी दिए ।

बाध्यता माथि कालोबजारी
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य दुईहजार ६० रुपैँया निर्धारण गरेको छ । सोही मूल्यमा ग्यास सप्लायर्सहरुले खुद्रा व्यापारीहरुलाई ग्यास बेच्ने गरेका छन् । खुद्रा व्यापारीहरुले भने उपभोक्तालाई २१ सय रुपैँयामा ग्यास बिक्री वितरण गर्छन् । तर, बजारमा ग्यासको अभाव हुन थालेपछि ग्यास सप्लायर्सहरुले नै महँगोमा ग्यास बेच्न थालेको उपभोक्ताहरुको गुनासो छ ।

‘सप्लायसको गोदाममै किन्न जाँदा पनि किराना पसलमा किने जस्तै खुद्रामूल्य २१०० तिर्नु प¥र्यो । किराना पसलमा ल्याउँदा पो ढुवानी लाग्थ्यो, तर सप्लायर्सले पनि खुद्राकै मूल्यमा बेचिरहेको छ’, धारापानीका कृष्ण श्रेष्ठले भने । ग्यास सप्लायर्सले दिनहुँ फरक, फरक मूल्यमा ग्यास बिक्री गरिरहेको अर्की उपभोक्ता सिता गुरुङले गुनासो गरिन् ।

‘मलाई २१६५ भन्यो, अर्को दिदीलाई २१२० लिएछ’, उनले भनिन्, ‘टोकन दिँदा पैसा लिएको छैन, ग्यास महँगो भएर आउन सक्छ, कि त घट्न पनि सक्छ भनेर भन्नु हुन्छ । दुईतिन दिनभित्र पनि हरेक दिन ग्यास झारेपछि दिनैपिच्छेको फरक मूल्य राखेको छ ।’ ग्यास नहुँदा घरमा चुलो बल्न छाडेपछि आफूहरु जत्रो मूल्य चुकाउन पनि तयार रहेको ग्यासको लाइन कुरिरहेकी माया विकले भनिन् । ‘अब जसरी पनि ग्यास चाहिएको छ, जतिभन्यो त्यति पैसा दिन परिहाल्यो’, उनले भनिन् ।

अनावश्यक हल्लाले अभाव बढायो
बजारको अनावश्यक हल्लाले गर्दा ग्यास अभाव भएको हरमटारीस्थित गोरखा बिजनेस सेन्टरका संचालक मनकाजी श्रेष्ठले बताए । उनी भन्छन्, ‘ग्यास अभाव हुन्छ भनेर फेसबुकभरि जताततै हल्ला फैलिएको छ । जस्ले गर्दा मान्छेहरुले आवश्यकताभन्दा बढी ग्यास जम्मा गरेका छन् । यसले साँच्चिकै ग्यास नहुनेलाई मर्का परेको छ ।’ खुद्रा व्यापारीहरुलाई ग्यास पठाउन नपाउँदै सप्लायर्सबाटै बिक्री हुने गरेको उनले जानकारी दिए ।

‘ग्यासको गाडी आउने बित्तिकै मान्छेहरु लाइन लागेर किन्न आउँछन्, दिन्न भन्ने कसरी ?’, उनले भने, ‘ग्यास झार्न नपाउँदै सकिन्छ । त्यसैले खुद्रा व्यपारीहरुकोमा पनि पठाउन सकेको छैन् ।’ श्रेष्ठका अनुसार जिल्लामा नियमित रुपमा आउने जति नै ग्यास आईरहेको छ । तर, उपभोक्ताहरुले एकैचोटी तीन–चार वटा सिलिण्डर साँटेर राखेकाले अभाव भएको उनले बताए ।

यस्तै, उनले उपभोक्ताहरुलाई आवश्यकता अनुसारको ग्यास खरिद गर्न पनि अनुरोध गरे । हाल जिल्ला सदरमुकाम वरपरका खुद्रा पसलहरुमा खाना पकाउने ग्यास नरहेको उनले बताएका छन् । हरमटारीको केसी किराना स्टोर्सका संचालन राजेन्द्र केसीले पनि विगत केही दिनदेखि खाना पकाउने ग्यास नआएको बताए । ‘ग्यास डिलरकोमा आएर पनि उतै सकिन्छ । पसलमा ग्यास किन्न आउनेहरुलाई उतै डिलरकोमा जान भनेको छु’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्