
तीनतले घर गुमाएको परिबारलाई वडाअध्यक्षद्वारा ५० हजार सहयोग
केही दिनअघि पहिरोमा तीनतले पक्की घर गुमाएका परिबारलाई गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजारका वडाअध्यक्ष कुलबहादुर कुँवर(कुमार)ले राहतस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेका छन् ।
गत सोमबार अविरल बर्षापछि आएको पहिरोमा घर गुमाएका सोही वडाका मानसिँह गुरुङको परिबारलाई तत्काल बसोबासको व्यवस्था गर्न सहयोग गरेको अध्यक्ष कुँबरले जानकारी दिए ।
‘पीडित परिवारलाई साहानुभूति स्वरुप तत्कालको बसोबासलाई सहयोग पुगोस् भन्ने उद्देश्यले म र मेरो परिबारको तर्फबाट ५० हजार रुपैयाँ दिने निर्णय गरेको छु’, उनले भने, ‘यो रकम म आजै दिनेछु । तत्काल बसोबासको व्यवस्था मिलाउन सहयोग गर्न यस वडा तथा देश, विदेशमा रहनु भएकाहरुलाई पनि अनुरोध गर्दछु ।’
लगातारको झरीपछि गत सोमबार विहान ११ बजे उनको तीनतले पक्की घर पहिरोमा बगेको थियो । पीडित परिबार अहिले गुरुङ समाजले व्यवस्था गरेको छिमेकीको घरमा दुईवटा कोठा भाडामा लिएर बसोबास गरिरहेका छन् ।




