
सीमामा राष्ट्रिय गौरवको मानमर्दन हुन नदिऔँ
नेपाल र चीन बीचको उत्तरी सीमा नाकामा अवस्थित गोरखाको चुमनुब्री गाउँपालिकाका रुइला र ङुइला नाकाहरू यतिबेला चीनतर्फबाट एक महिनाका लागि खुला गरिएका छन् । वर्षमा एकपटक मात्र खुल्ने यी नाकाहरू स्थानीय बासिन्दाका लागि दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र निर्माण सामग्री खरिद गर्ने मुख्य थलो हुन् ।
नाका खुल्दा स्थानीय स्तरमा उत्साह छाउनु स्वाभाविक भए पनि दुई देशको सीमा क्षेत्रमा देखिने राष्ट्रिय ध्वजाको अवस्थाले भने हरेक नेपालीको मन अमिलो बनाएको छ । चीनतर्फ बलियो तारबार र विशाल चिनियाँ झण्डा फहराइरहँदा नेपालतर्फको भुभाग भने उजाड र रित्तो देखिन्छ । ङुइला नाकामा स्थानीय एक नागरिकले व्यक्तिगत प्रयासमा सानो लठ्ठीमा गाडेको नेपाली झण्डा चिनियाँ राष्ट्रिय ध्वजाको सामु टिठलाग्दो अवस्थामा छ भने रुइला नाकामा त झण्डा नै छैन । सधैँ तीव्र हावा चलिरहने उच्च हिमाली क्षेत्रमा राखिने यस्ता कमजोर झण्डाहरू टिक्दैनन् भन्ने बुझ्दाबुझ्दै पनि त्यहाँ स्थायी र बलियो संरचना बनाउन नसक्नु लज्जास्पद विषय हो ।
भौगोलिक वा आर्थिक दृष्टिकोणले देशहरू साना वा ठूला हुन सक्छन्, तर सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र गौरवको नजरमा कुनै पनि देश कसैभन्दा सानो हुँदैन । सीमा क्षेत्रमा फहराउने राष्ट्रिय झण्डा केवल कपडाको टुक्रा मात्र होइन, यो देशको अस्तित्व र राष्ट्रियता देखाउने ऐना हो । सीमा सुरक्षा र व्यवस्थापनका हरेक ससाना काममा पनि सिंहदरबार वा सङ्घीय सरकारको मुख ताक्ने हाम्रो परम्परागत प्रवृत्ति यहाँ पनि देखिएको छ ।
वास्तवमा, यस्ता संवेदनशील स्थानमा स्थायी र उच्च गुणस्तरको राष्ट्रिय झण्डा स्थापना गर्न स्थानीय चुमनुब्री गाउँपालिका वा सम्बन्धित वडा कार्यालय आफैँ सक्षम छन् । आफ्नो भूगोलको साख जोगाउन स्थानीय सरकारले सङ्घको बाटो हेरिरहनु पर्दैन । तसर्थ, पालिका र वडा नेतृत्वले तत्कालै अग्रसरता देखाई रुइला र ङुइला दुवै नाकामा मौसम अनुकूलका बलिया, अग्ला र आकर्षक राष्ट्रिय झण्डाहरू स्थायी रूपमा स्थापना गर्नुपर्छ । सीमामा राष्ट्रिय गौरवको मानमर्दन हुन नदिनु स्थानीय सरकारको पनि उत्तिकै दायित्व हो ।




