| बिहिबार, साउन २०, २०८३

खाना पकाउने ग्यास गोदामहरुमा अनुगमन

केही दिनदेखि बजारमा खाना पकाउने एलपी ग्याँसको हाहाकार हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, गोरखाले ग्यास डिलर तथा अधिकृत विक्रेताहरुको गोदाममा अनुगमन गरेको छ । सोमबार जिल्ला सदरमुकामस्थित ५ वटा ग्याँस गोदामहरुमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

अनुगमनका क्रममा ग्यासका डिलर तथा अधिकृत विक्रेताहरुका गोदाम खाना पकाउने ग्यासको स्टक नरहेको पाइएको उनले जानकारी दिए । सबै ग्यास सप्लायर्सहरुमा खाली ग्यासको सिलिण्डर मात्र भेटिएको सहायक प्रजिअ शर्माको भनाइ छ । प्रशासन कार्यालयले सोमबार गोरखा सदरमुकामस्थित गणेश भाडा पसल, जोशी क्वालिटी किराना पसल, गोरखा बिजनेस सेन्टर, असिम एण्ड अग्रिम स्टोर्स र वि.एम सप्लायर्समा अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्टक ग्यास नभेटिएको सहायक प्रजिअ शर्माले बताए ।

‘डिलरले ग्यास लुकाएर राखेका छन् भन्ने गुनासो थियो,’ उनले भने, ‘आज मुख्य डिलरहरु अनुगमन ग¥यौँ, त्यस्तो भेटिएन ।’ग्यास नियमित आइरहेको तर आपूर्तिभन्दा माग बढी भएकाले समस्या देखिएको उनले बताए । ग्यास अभाव हुने हल्लाका कारण उपभोक्ताले अनावश्यक रुपमा ग्यासहरु थुपार्ने गर्दा पनि समस्या भएको उनको भनाइ छ ।

‘जिल्लामा ग्यास आइरहेको छ, तर अभाव भनेर धेरै उपभोक्ताले स्टक राख्न थालेकाले पनि समस्या भएको हो,’ उनले भने । भएका ग्यास लुकाएर कृक्रिम अभाव सृजना गर्न खोज्ने डिलरहरुलाई कारवाही गरिने उनले चेतावनी समेत दिएका छन् । कार्यालयले ग्यास सप्लायर्सहरुलाई सामानको मूल्य सूची टाँस्न गर्न तथा आगो निभाउने मेसिन राख्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्