
चिनियाँ सीमानामा नेपाली झण्डा दयनीय
चिनियाँ अधिकारीहरुले गत असारको २६ गतेदेखि सीमा नाका खुलाउने भनी सीमावर्ती चुमनुब्री गाउँपालिकाको वडा नं. १ र वडा नं. ७ का बासिन्दालाई सूचना दिए । बर्षमा एकफेर नाका खुल्ने खबरले स्थानीयबासी हर्षित भए ।
एक महिनाका लागि मात्र नाका खुल्ने भएपछि उनीहरु दैनिक उपभोग्य बस्तुदेखि लत्ताकपडा, निर्माणका सामग्री लगायतका सामान किन्न समय मिलाएर तिब्बती बजारतिर जान थाले । चुमनुब्री गाउँपालिका वडा नं. १ र २ का बासिन्दा रुइला नाका हुदै तिब्बती हाट बजारतर्फ जान थाले । वडा नं. ६ र ७ का बासिन्दा ङुइला नाका हुँदै तिब्बतको स्याक्तर्फ जान थाले ।
सीमा नाकामा चिनियाँ पक्षले तारबार गरेको छ । एउटा गेट राखेको छ र ठूलो झण्डा फहराएको छ । तर नेपालतर्फ भने झण्डा छैन । दुई देशको सीमानामा एउटा देशको मात्र झण्डा देखेपछि चुमनुब्री ७ का एक स्थानीयले नेपालको ङुइला नाकामा झण्डा त गाडे तर धेरै सानो लठ्ठीमा । जुनझण्डा चिनियाँ झण्डाको सामु दयनीय देखिने गरेको छ ।
‘मैले मेरो कार्यकालमा एकफेर झण्डा राखेको थिएँ । अहिले त्यो पनि हावाले उँडाएर कता पु¥यायो । त्यसपछि त झण्डै थिएन’, तिब्बती बजार पुगेर फर्केका निवर्तमान वडाअध्यक्ष पासाङ फुञ्जो लामाले भने, ‘अहिले कसैले झण्डा त राखेछ, तर सानो । धन्न यत्ति भने पनि नेपाली झण्डा फहराएको छ । धन्यवाद भन्नुपर्छ ।’ सँधै हावा चलिरहने यहाँ सानोतिनो, कमजोर झण्डा नटिक्ने उनको भनाइ छ ।
रुइला नाकामा भने झण्डा छैन । दुवै नाकामा झण्डा राख्नुपर्ने गाउँपालिकाका अध्यक्ष निमा लामा बताउँछन् । ‘त्यहाँ सानोतिनो झण्डा राखेर हुँदैन । उचाइको ठाउँ हो, सँधै हावा चलिरहन्छ’, उनी भन्छन्, ‘त्यहाँ अल्लि बलियो झण्डा राख्नुपर्छ । वडाअध्यक्षहरुलाई म आग्रह गर्नेछु ।’




