
चार स्थानीय तहले निर्माण सामग्री उत्खनन अनुमति पाए
अनुपमा खनाल
गोरखाको चार स्थानीय तहले नदिजन्य पदार्थ संकलनका लागि स्विकृति पाएका छन् । जिल्ला समन्वय समिति गोरखाले गोरखा नगरपालीका सहित, अजिरकोट, गण्डकी र सिरानचोक गाउँ पालीकालाई नदिजन्य पदार्थ संकलनको अनुमति दिएको हो ।
उनीहरुले पेश गरेको आई ई ई अर्थात प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन स्विकृत गरेको समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले जानकारी दिए । गोरखा नगरपालीकाको दरौंदी र मस्र्याङदी, अजिरकोटको चेपे र
दरौदी, सिरानचोकको चेपे र
दरौदी र गण्डकी गाऊँपालीकाको बुढिगण्डकीका घाटहरुमा नदिजन्य पदार्थ संकलन सम्बन्धी आइइ रिपोर्ट स्विकृत गरिएको उनको भनाई छ ।
समन्वय समितिकी निमित्त प्रमुख जनुका अधिकारीको अध्यक्षतामा बसेको बैठकले टेण्डर प्रक्रियामा जान अनुमति दिएको धितालले बताए । ‘स्थलगत अनुगमन गरेर प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन स्विकृत गरेका हौं ।’ उनले भने ‘ अब ति स्थानिय तहले तोकिएका ठाउँबाट नदिजन्य पदार्थ निकाल्नका लागि ठेक्का लगाउन सक्नेछन् ।’ नदिजन्य पदार्थ संकलनका लागि समन्वय समितिले पालुङटार नगरपालीका सहित शहिद लखन , बारपाक सुलिकोट र भिमसेन थापा गाऊँपालीकाको आइइ रिपोर्ट स्विकृत गर्न बाँकी छ । गण्डकी प्रदेश सरकारले बनाएको कार्यविधि अनुसार ठेक्का लगाउनु अघि कति परिमाणमा संकलन गर्न सकिन्छ भन्ने प्रारम्भिक वातावरणीय परिक्षण अर्थात आइईई गर्नुपर्ने भएको हो । त्यसपछि स्थानीय तहमा नदिजन्य पदार्थको माग र आपूर्तिको विश्लेषण गरि वार्षिक कार्ययोजना बनाउनु पर्ने कार्यविधिमा उल्लेख छ ।
आइ ई ई रिपोर्ट र कार्ययोजना गाऊँ तथा नगरसभाले स्विकृत गरेपछि ठेक्काको प्रक्रियामा जानुपर्नेछ ।
ठेक्का लगाएपछि पनि संकलित नदिजन्य सामग्री तोकिएको ठाऊँमा भण्डारण गरिसकेपछि मात्रै निकासी गर्नुपर्ने प्रदेश सरकारको कार्यविधिमा उल्लेख छ ।




