
आरोही युक्तप्रति उच्च सम्मान गरियोस्
गोरखाको पर्यटकीय गाउँ लाप्राकलाई विश्वसामु ‘आरोहीहरूको गाउँ’का रूपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने साहसी आरोही पुरबहादुर गुरुङ (युक्त) को असामयिक निधनले सिङ्गो देशलाई नै स्तब्ध बनाएको छ । सगरमाथाको १० पटक सफल आरोहण गरिसकेका र विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुरामध्ये १२ वटामा आफ्नो सफलताको झण्डा फहराइसकेका युक्तको गत बिहीबार पाकिस्तानको ब्रोडपिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भयो ।
दुस्खद् खबरले लाप्राक गाउँ मात्र नभई सम्पूर्ण धार्चे गाउँपालिका र सिङ्गो नेपालको पर्वतारोहण क्षेत्रमा कहिल्यै परिपुरण हुन नसक्ने क्षति पु¥याएको छ । अत्यन्त कठिन र जोखिमपूर्ण परिस्थितिमा पनि धैर्य, साहस र दक्षताका साथ हिमालका उँचाइहरू चुम्ने युक्त गुरुङ पर्वतारोहण जगत्का एक चम्किला नक्षत्र थिए । उनले आफ्नो ज्यानको बाजी थापेर विश्वमा नेपालको नाम उच्च राखे र आफ्नो जन्मभूमि लाप्राकको पहिचानलाई नयाँ उचाइ दिए ।
उनी केवल एक आरोही मात्र थिएनन्, धार्चेका युवाहरूका लागि प्रेरणाका स्रोत र नेपालको साहसिक पर्यटनका स्तम्भ पनि थिए । हिमालसँगको लामो सहयात्राका क्रममा ब्रोडपिकमै उनको जीवनयात्राको अन्त्य हुनु अत्यन्तै हृदयविदारक र दुर्भाग्यपूर्ण छ । यो गहिरो शोक र दुस्खको घडीमा उनले पु¥याएको अतुलनीय योगदानको कदर गर्दै धार्चे गाउँपालिका र सम्बन्धित निकायले उनलाई विशेष र सम्मानजनक पहिचान दिनु अपरिहार्य छ ।
जसरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्ना होनहार आरोही निर्मल पुर्जाको निधनको शोकमा सार्वजनिक बिदा घोषणा गरेर सम्मान प्रकट गरेको थियो, त्यसैगरी धार्चे गाउँपालिकाले पनि युक्त गुरुङको योगदानको सम्मानमा गाउँपालिकाभरि एक दिन सार्वजनिक बिदा घोषणा गर्नु पूर्ण रूपमा उचित र न्यायसङ्गत देखिन्छ ।
यसका साथै, उनको योगदानलाई अमर बनाउन स्थानीय तहले ठोस कदमहरू चाल्न आवश्यक छ । लाप्राकस्थित आरोही पार्कमा उनको शालिक निर्माण गरी भावी पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा स्थापना गर्नु वाञ्छनीय छ । उनको सम्मानमा धार्चे गाउँपालिका तथा उनको गृह वडा (लाप्राक) भित्रका प्रमुख पर्यटकीय पदमार्ग, पार्क वा अन्य पर्यटकीय संरचनाहरूको नामाकरण उनकै नाममा गर्नु उचित देखिन्छ ।




