
डिजिटल ठगीबाट बचौँ
प्रविधिको फड्कोसँगै डिजिटल ठगी पनि बढ्दो छ । चेक बाउन्स, नक्कली खाता, अनाधिकृत भुक्तानी, कमजोर वा झुटो धितो, डिजिटल ठगी जस्ता बैंकिङ कसूरका मुद्दाहरुले जिल्लामा राम्रै स्थान पाइरहेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले पनि बर्षेनी यस्ता घटना बढ्दो क्रममा रहेको देखाउछ । ठगी गर्ने गिरोहहरुको ठगी गर्ने तरिका बदलिएको छ । उनीहरु पनि डिजिटलाईज भइसकेका छन् । त्यसैले सचेत रहन जरुरी छ ।
पछिल्लो समय विभिन्न प्रलोभन र डर देखाएर ओटीपी कोड मागेर बैङ्क खाता रित्याउने गिरोह सक्रिय छन् । यसअघि बैंकबाट बोलेको भन्दै विभिन्न वहानामा ओटीपि कोड मागेर बिभिन्न व्यक्तिहरुको खाता रित्याएको घटनाहरु ताजै छन् । अपरिचित व्यक्तिले चिठ्ठा परेको प्रलोभन देखाएर, बैङ्क खाता अपडेट गर्नुपर्ने बहानामा वा खाता ब्लक हुन लागेको डर देखाएर ओटीपी माग्ने र रकम लुट्ने गरेको देखिन्छ । यसको शिकारमा जिल्लाकै नागरिकहरु पनि परिसकेका छन् ।
प्रहरीले पटक पटक यस्ता बिषयमा सचेत रहन आग्रह गर्दै आएको छ । फोन गरेर ओटीपी माग्ने व्यक्ति प्रायः ठग हुने भन्दै प्रहरीले आफ्नो गोप्य कोड कसैलाई पनि नदिन सचेत गराउँदै आएको पनि छ । तर बिडम्वना ठगिनेहरुको संख्या भने बढ्दो छ ।
प्रहरीको एकल प्रयासले मात्र यो सम्भव छैन । यसमा नागरिक आफै सचेत हुनु जरुरी छ । ग्रामिण भेगसम्म जनचेतनामूलक कार्यक्रमको पहुँच पु¥याउन सक्नुपर्छ । आफ्ना सेवाग्राहीहरुलाई यस बिषयमा सचेत गराउने जिम्मेवारी बैंकहरु स्वयमको पनि हो । आफ्नो जिम्मेवारीबाट उनीहरु पन्छन मिल्दैन ।
अवका दिनमा यस्ता घटनाहरु दोहोरिन नदिन नागरिक स्तरबाटै सचेतनाका आवाजहरु उठ्नुपर्छ । सरोकारवाला निकायले सचेत गराउन सहजिकरण गर्नुपर्छ । ठगी गर्नै गिरोहलाई कानूनी दायरामा ल्याउन प्रहरी प्रशासन चुक्नु हुदैँन ।




