
पुरबहादुर गुरुङ : हिमालमै हुर्किए, हिमालमै अस्ताए
पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ आरोहणको क्रममा ज्यान गुमाउनेमध्ये पुरबहादुर गुरुङ (युक्त) पनि एक हुन् । उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा जन्मेका उनको बाल्यकाल हिमालकै काखमा वित्यो ।
सन् १९८९ सालमा जन्मेका उनको ब्रिटिश सेनामा भर्ती हुने सपना थियो । सशस्त्र द्धन्द्धका कारण सपना अधुरै राखेर बाल्यकालमै उनी मनाङको होटलमा काम गर्न पुगे । टे«किङ गाइडहरुसँग उनको सम्पर्क बढ्यो । गाइड बन्ने रहर बोकेर काठमाडौं झरे ।
‘सन् २००९ मा पोर्टरको रुपमा काम सुरु गर्नुभएको थियो,’ उनका सहकर्मी तुलसिङ गुरुङले भने, ‘बिस्तारै क्याम्पिङ ग्रुपका लागि किचन हेल्परको रुपमा काम गर्न थाल्नुभयो ।’ क्रमश सहयोगी गाइड, ट्रेक गाइड हुँदै प्लानिङ गाइडको रुपमा काम गर्न थालेको तुलसिङले बताए । उनका अनुसार गत डिसेम्वरमा मात्र युक्तले इन्टरनेशनल माउण्टेन गाइड पास गरेका छन् । ‘नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघमार्फत इन्टरनेशनल माउण्टेन गाइड पास गर्नुभएको थियो, तर आज यस्तो दुखद खवर सुन्नुप¥यो,’ उनले भने । लाप्राकमै जन्मिएका तुलसिङ उक्त संघका अध्यक्ष समेत हुन् ।
गुरुङ समुदायबाट सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने युक्त नै थिए । हालसम्म उनले दश पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । पहिलो पटक उनले सन् २०११ मा सगरमाथा चढेका थिए । त्यस्तै उनले ८ हजार मिटर उचाइको १२ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । ‘संसारभर ८ हजार मिटर उचाइको कुल १४ वटा हिमाल छन्, तीमध्ये आठ वटा नेपालमै पर्छ,’ तुलसिङले भने, ‘दुई वटा वाहेक बाँकी सबै उहाले चढिसक्नुभयो ।’
पाकिस्तानको माउण्ट केटु हिमाल २४ घण्टाभित्र आरोहण गरेर उनले किर्तिमान समेत कायम गरेका थिए । हिमालमा फसेका पर्यटकको उद्धारमा समेत उनी खटिन्थे । हिमालमै हुर्किएका उनी ३७ बर्षको उमेरमै हिमालमै अस्ताए । ‘ब्रोड पिक’ हिमाल आरोहणका लागि उनी तीन हप्ता अघि नेपालबाट पाकिस्तान गएका थिए । अव कहिलै नफर्किने गरी उतै अस्ताएका छन् ।




