
अमेरिका बस्ने घलेले भर्चुअल माध्यममबाट गरे गुरुहरुलाई सम्मान
गुरु पूर्णिमाको अवसर पारेर बारपाक घर भई हाल अमेरिका बस्ने यम घलेले आफूलाई ‘कखरा’ सिकाउने गुरुहरुलाई सम्मान गरेका छन् ।
बारपाकसुलिकोट गाउँपालिका २ बारपाक गाउँस्थित हिमालय माविमा अध्ययन गरेका घलेले गुरु पूर्णिमाको अवसर पारेर विद्यार्थी कालमा आफूलाई अध्यापन गराउने शिक्षक, शिक्षिकाहरुलाई सम्मान गरेका हुन् ।
घले अहिले पनि अमेरिकामै छन् । तर गोरखा सदरमुकाममा बुधबार एक कार्यक्रम आयोजना गरी घलेले हिमालय माविमा आफूलाई अध्यापन गराएका शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेको कार्यक्रम संयोजक एवं विद्यालयमा पूर्व शिक्षक यदुप्रसाद अधिकारीले बताए । ‘उनलाई (यम घले) विद्यार्थीकालमा म लगायत २२ जना शिक्षक, शिक्षिकाहरुले पढाएका रहेछौँ । जसमध्य १६ जना जीवित छौँ’, अधिकारीले भने, ‘आजको सम्मान कार्यक्रममा भने विभिन्न कारणबस हामी ९ जना मात्र उपस्थित हुन सक्यौँ ।’
घलेले आफूलाई विद्यालयमा पढाउने शिक्षकहरु सुकदेव दवाडी, विष्णुदेव दवाडी, भिमप्रसाद दवाडी, यदुप्रसाद अधिकारी, मादवप्रसाद अधिकारी, भरतप्रसाद देवकोटा, काशीप्रसाद घिमिरे, इश्वरीप्रसाद घिमिरे र स्थिरप्रसाद खनाललाई सम्मान गरेका हुन् ।
शिक्षकहरुलाई दोसल्ला र नगद १० हजार एक सय रुपैँयासहित सम्मान पत्रले सम्मान गरेको शिक्षक यदुप्रसाद अधिकारीले जानकारी दिए । हाल अमेरिका बस्ने यम घलेले आफ्नो दाई तेज घलेमार्फत गुरु सम्मान कार्यक्रम संचालन गरेको उनले बताएका छन् ।
कार्यक्रममा तेजबहादुर घलेले यम घलेलाई भर्चुअल माध्यमबाट गुरुहरुसंग सम्पर्क गरी सम्मान गर्ने वातावरण मिलाएका थिए ।
यता औपचारिक कार्यक्रम चलिरहँदा घले भिडियो कल मार्फत कार्यक्रममा सहभागी भएका थिए । उनले भिडियोमार्फत आफूलाई पढाउने शिक्षकहरुप्रति कृतज्ञता प्रकट गरिरहेका थिए ।
‘यसरी आफूलाई विद्यालयमा पढाउने सबै शिक्षिकहरुलाई सम्मान गरेको यो गोरखाकै पहिलो पटक हुनुपर्छ’, सम्मान कार्यक्रमका संयोजक समेत रहेका यदु अधि कारीले भने ।
विद्यार्थीकालमा शिक्षादीक्षा दिएर आफूलाई अब्बल व्यक्ति बनाएको भन्दै यम घलेले गुरु सम्मान कार्यक्रम गरेका हुन् । कार्यक्रम मार्फत घलेले आफू आज शिक्षक, शिक्षिकाहरुकै कारण असल व्यक्ति बनेको भन्दै गुरुहरुप्रति सम्मान समेत व्यक्त गरेका थिए ।
आफू उपस्थित हुन नसके पनि घलेले आफूलाई कखरा सिकाउने गुरुहरु प्रति गरेको सम्मानप्रति स्रम्मानित गुरुहरुले पनि कृतज्ञता प्रकट गरेका थिए ।
गुरु सम्मान कार्यक्रममा बारपाक गाउँका बासिन्दा, हिमालय मावि बारपाकका पूर्व शिक्षकहरु, गोरखा क्याम्पसका पूर्व प्राध्यापकहरु लगायतको उपस्थिति रहेको थियो ।




