| बिहिबार, साउन १३, २०८३

पुङ्गेन गुम्बामा १२ बर्षमा लाग्ने एक महिने मेला

घोँडा बर्गको छैठौँ महिनामा पुंगेन गुम्बामा पूजाआजा गरेमा कैलास मानसरोवरमा पूजा गरे सरह हुन्छ भन्ने विश्वासअनुसार यतिबेला उत्तरी गोरखाको पुंगेन गुम्बामा एक महिने विशेष पूजा तथा मेला लागेको छ । तिब्बती भित्तेपात्रो अनुसार १२ वर्षपछि आउने घोडा वर्षको अवसरमा चुमनुब्री गाउँपालिका १ स्थित पुङ्गेन गुम्बामा विशेष पूजाआजा सहित मेला भैरहेको स्थानीयबासीले जानकारी दिएका छन् ।

यही साउन पहिलो हप्तादेखि सुरु भएको उक्त विशेष मेलामा उत्तरी गोरखाबासी र मनाङबासी सरिक भएका थिए । साउन पहिलो हप्तामा विशेष पूजाआज भएपनि मेला भने साउन महिनाभर लाग्ने चुमनुब्री गाउँपालिका २ का पूर्व वडाअध्यक्ष पेम्बा रेताले बताए ।

‘बौद्ध धर्म अनुसार हरेक १२ वर्षमा आउने घोडा वर्ग वर्षमा कैलाश हिमाल तीर्थ जाने मान्यता छ’, उनले भने, ‘कैलाश जान नसक्नेहरुले यहाँको पुङ्गेन गुम्बा आएर दर्शन ग¥यो भने कैलाश मानसरोवर पुगेजस्तै हुन्छ भन्ने जनविश्वास छ । त्यसैले यहाँ हजारैँ बुद्ध धर्मवलम्बीहरु तिर्थ गर्न आउँछन् ।’ पुङ्गेन तीर्थ गर्न हरेक वर्ष देश विदेशबाट तीर्थालुहरु आउने गरेको उनले जानकारी दिए ।

यो वर्ष घोडा वर्ष समेत भएकाले देश विदेशबाट बुद्ध धर्मवलम्बीहरु पुङ्गेनमा तीर्थ गर्न आएका उनले बताएका छन् । पेमा रेतामा अनुसार चारहजार मिटर उचाईमा रहेको पुङ्गेन गुम्बा पुग्न स्यालाबाट तीनदेखि चारघण्टाको उकालो बाटो पैदल जानुपर्ने हुन्छ ।
पुङ्गेन गुम्बामा हरेक १२ वर्षपछि आउने घोडा वर्षमा विशेष मेला लाग्ने भएपनि पूजाआजा भने हरेक वर्ष हुने चुमनुब्री १ सामागाउँका बीर बहादुर लामाले बताए । ‘यो वर्ष घोडा वर्ष भएर अलि विशेष पूजाआज हुन्छ । तर, मेला भने हरेक वर्ष नै लाग्छ’, लामाले भने ।

पुङ्गेन गुम्बामा तिब्बती पात्रो अनुसार छैठौँ महिनाको तीनगते (पहिलो दिन) पूजा आरधाना हुन्छ । लामाका अनुसार चार गते (दोस्रो दिन) भने विशेष ब्रत बस्ने प्रचलन रहेको छ । दोस्रो दिन, केही नखाई, कसैसँग नबोली ब्रत बस्ने चलन रहेको उनले बताएका छन् । तेस्रो दिन भने लामा गुरुले चोख्याएपछि पूजा सकिने उनले जनाए । हिन्दु धर्म अनुसार साउन महिनालाई शिवको महिना भनिन्छ । बुद्ध धर्ममा पनि साउन महिनालाई तीर्थ गर्ने महिनाको रुपमा मनाउने लामाको भनाई छ ।

पुङ्गेन गुम्बालाई उत्तरी गोरखाका भोटे लामाहरुको कुलदेवताको रुपमा पनि पुज्ने गरेको स्थानीय बीरबहादुर लामाले बताएका छन् । ‘गुम्बा करिब चारसय वर्षअघि निर्माण भएको मान्यता छ । सामागाउँमा बस्ती बसेपछि कुलदेवताको रुपमा पुङ्गेन गुम्बा पनि निर्माण भएको भनेर हाम्रो पुर्खाहरुले कुरा गर्नुहुन्थ्यो’, उनले भने । विश्वको आठौं अग्लो मनास्लु हिमाललाई पनि स्थानीयबासीले पुंगेन हिमाल भन्ने गर्दछन् । सोही हिमालको काखमा रहेको यो गु्रम्बाको नाम पनि पुंगेन रहेको छ

प्रतिक्रिया दिनुहोस्