
गुम्दामा भदौ १ देखि ५ गतेसम्म आलु मेला हुने
आलुको राजधानी भनेर चिनिने धार्चे गाउँपालिका ५ गुम्दामा बिगत बर्षहरुमा झैँ यसबर्ष पनि आलु मेला हुने भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवले आगामि भदौ १ देखि ५ गतेसम्म गुम्दा आलु मेला २०८३ आयोजना गर्न लागेको हो ।
‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन र भावीलाई उत्थान’ भन्ने मूल नाराका साथ मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
ऐतिहासिक गुम्दा आलु मेलामा आलु खाने प्रतियोगिता, जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला लोक नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता तथा डोरी तान्ने प्रतियोगिता हुने आयोजक थमरा युवा क्लवका अध्यक्ष सन्तोष गुरुङले बताए । साथै, स्थानीय स्तरमा उत्पादन भएका आलु प्रदर्शनसँगै विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको उनले जानकारी दिए ।
गुम्दामा उत्पादित आलुको प्रचारप्रसार गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । ‘खेलको माध्यमले युवा प्रतिभा पहिचान गर्नु, उनीहरुमा उत्प्रेरण जगाउनु र स्थानीय पर्यटन प्रवद्र्धन गर्नु पनि हाम्रो मुख्य उद्देश्य हो’, गुरुङले भने ।
मेलामा हुने पालिका स्तरीय भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने टिमले क्रमश रु ८० हजार, ५० हजार र २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकको भनाइ छ । जिल्लाको उत्तरी भेगमा पर्ने धार्चे, चुमनुब्री, आरुघाट, बारपाकसुलिकोट र अजिरकोट गाउँपालिकाको टिमले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । टिम दर्ता शूल्क भने रु सातहजार ५५५ कायम भएको छ ।
यसवर्ष महिलातर्फको भलिबल प्रतियोगिता भने आयोजना नगरिने आयोजक क्लवका अध्यक्ष सन्तोष गुरुङले बताएका छन् । यो वर्ष महिला टोलीहरुले सहभागिता नजनाउने भएपछि महिलातर्फको भलिबल नहुने उनको भनाइ छ । आलु खाने प्रतियोगितातर्फ प्रथम हुनेले पाँच पाथी आलु पुरस्कार जित्ने आयोजक क्लवले जनाएको छ । यसैगरी, खुल्ला लोक नृत्यतर्फ प्रथम र द्वितीय हुनेले क्रमश रु पाँच हजार र तीनहजार प्राप्त गर्ने बताइएको छ । लोक नृत्य प्रतियोगितामा एक समूहमा दुईजना भाग लिन पाउने उल्लेख छ ।
छेलो प्रतियोगितामा प्रथम हुनेले रु पाँचहजार तथा डोरी तान्ने प्रतियोगितामा प्रथम हुने टोलीले पनि रु पाँचहजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने उल्लेख छ । छेलो र लोक नृत्य प्रतियोगितामा सहभागिता जनाउनका लागि रु पाँचसय, आलु खाने प्रतियोगिताका लागि रु दुईसय र डोरी तान्ने प्रतियोगिताका लागि एक हजार रुपैँया दर्ता शुल्क लाग्ने बताइएको छ ।
धार्चेको गुम्दा, लाप्राक लगायतका आसपासका गाउँलाई आलु पकेट क्षेत्रका रुपमा चिन्ने गरिन्छ । यहाँको मुख्य खाद्यान्न बाली नै आलु हो । यहाँ उत्पादित आलुहरु जिल्लाका सदरमुकाम तथा विभिन्न स्थानीय तहसँगै पोखरा, काठमाडौ लगायतका जिल्लामा निर्यात हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष धेरै आलु उत्पादन भएको तर कच्ची सडकका कारण मोटर बाटो संचालन नहुँदा त्यहाँ उत्पादित आलु समयमै बजारसम्म पु¥याउन नपाएको स्थानीय कृषकहरु बताउँछन् ।




