| सोमवार, साउन १०, २०८३

गोरखामा कुपोषित बालबालिकाको संख्या दुई तिहाइ घट्यो

गण्डकीमा दोब्बर बढ्यो, पालुङटारमा दोब्बर घट्यो, नौ पालिकामा शून्य

गोरखाका बालबालिकामा कुपोषणको समस्या उल्लेखनीय रुपमा सुधार आएको छ । तीनबर्ष अघि र अहिलेको पोषणको तथ्यांक अध्ययन गर्दा अहिले कुपोषित बालबालिकाको संख्या झण्डै दुई तिहाइले घटेको पाइएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार अहिले गोरखामा जम्मा २९ जनामात्र कुपोषित बालबालिका छन् । २१जना कडा खालका कुपोषित र आठ जना मध्यम खालका कुपोषित बालबालिका रहेको पोषण शाखा प्रमुख जनस्वास्थ्य अधिकृत नवराज खड्काले जानकारी दिए । ‘२०८०/०८१ मा कुपोषित बालबालिकाको संख्या ८३ थियो । जसमध्य कडा खालको ५९ जनामा र मध्यम खालको २४ जनामा थियो । २०८१/०८२ मा यो संख्या घटेर ३८ भयो । जसमा कडा खालको ३० जनामा र मध्यम खालको आठ जनामा थियो’, खड्काले भने, ‘अहिले यो संख्या करिब करिब तीन भागको दुई भाग घटेको छ ।’

गोरखामा अहिले जम्मा दुई पालिकामा मात्र कुपोषित बालबालिका छन् । गण्डकी गाउँपालिका र पालुङ्टार नगरपालिकामा मात्र कुपोषित बालबालिका देखिएका हुन् । कार्यालयका अनुसार गण्डकी गाउँपालिकामा १६ जना बालबालिकामा कुपोषण देखिएको छ । १२ जनामा कडाखालको र ४ जनामा मध्यम खालको कुपोषण देखिएको हो ।
त्यस्तै पालुङटार नगरपालिकामा १३ जनामा कुपोषण देखिएको छ । नौ जनामा कडा खालको र चार जनामा मध्यम खालको कुपोषण देखिएको जनस्वास्थ्य निरीक्षक नवराज खड्काले जानकारी दिए ।

अरु नौवटा पालिकामा कुपोषित बालबालिकाको संख्या शून्य देखिएको छ । गण्डकी गाउँपालिकामा तीनबर्ष यताको कुपोषित बालबालिकाको संख्या दोब्बर वृद्धि भएको छ । तीनबर्ष अघि आठ जनामा कुपोषण देखिएकामा दुई बर्षअघि यो संख्या बढेर नौ पुगेको थियो भने अहिले बढेर १६ पुगेको छ ।

पालुङ्टार नगरपालिकामा भने तीनबर्ष यता यो संख्या दोब्बरले कम भएको छ । तीनबर्षअघि २९ जना कुपोषित बालबालिका रहेकामा दुईबर्षअघि २३ र अहिले घटेर जम्मा १३ जनामा मात्र देखिएको छ । जिल्लाका पाँचवटा पालिकामा दुईबर्ष अघिदेखि नै कुपोषित बालबालिकाको संख्या शून्य छ । चुमनुब्री गाउँपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकामा विगत दुईबर्षदेखि कुपोषित बालबालिकाको संख्या शून्य भएको हो ।
अहिले कुपोषण शून्य बनाउन स्थानीय सरकार नै लागि परेका छन् । गोरखाका नौ वटा पालिकाले पोषण सुधार कार्यक्रमलाई जोड दिएर नतिजा पनि निकालेका छन् ।

‘अचेल स्थानीय सरकार नै पोषण सुधारमा लागेका छन्’, जनस्वास्थ्य अधिकृत खड्का भन्छन्, ‘गर्भवती, सुत्केरी, नवजात शिशुको पोषणमा पर्याप्त संवेदनशिलता देखाएर पालिका स्वयंंले पनि कार्यक्रम बनाएर लगानी गरिरहेका छन् ।’ पालिकाहरुले गर्भवतीसंग उपप्रमुख, सुत्केरीलाई माइतीको कोशेली जस्ता कार्यक्रम बनाएर लागु गरिरहेका उनले बताए । गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण सुधारका लागि परिबार स्वयं पनि सचेत भइसकेका छन् ।

नेपालीहरुमा देश, विदेश भ्रमण र रेमिट्यान्सका कारण मान्छेहरुमा खाना संस्कृतिको विकास भइरहेकाले पनि पोषण सुधार भएको हो । अहिले सरसफाइ प्रति सचेतनाले गर्दा बालबालिका स्वस्थ हुने, जसले कुपोषणको समस्या हट्दै गएको प्रदेश जनस्वास्थ्य कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्