
गोरखामा जडिबुटीबाट चारलाख ८६ हजार राजश्व संकलन
जडीबुटी संकलनबाट गोरखामा गत आर्थिक वर्ष २०८२/०८३ मा चारलाख ८६ हजार २२३ रुपैँया राजश्व संकलन भएको छ । गत आर्थिक बर्ष विभिन्न गाउँपालिकामा संकलन तथा निकासी भएका ३४ हजार ३६८.६५ केजी जडिबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले सो परिमाणको राजश्व संकलन गरेको जनाएका छन् ।
मनासलु क्षेत्रभित्र मात्र ११ हजार ६३५.६५ केजी जडिबुटी संकलन तथा निकासी भएको आयोजना कार्यालयले जनाएको छ । जसबाट एकलाख ७१ हजार २४८ रुपैँया राजश्व संकलन भएको मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।
गत आर्थिकवर्ष मनासलु क्षेत्र बाहेकका अन्य वनक्षेत्रबाट संकलित २२ हजार ७३३ केजी जडिबुटीबाट डिभिजन वन कार्यालय गोरखाले तीनलाख १४ हजार ९७५ रुपैँया राजश्व संकलन गरेको जनाएको छ । कार्यालयका अनुसार ९५ प्रतिशत जडीबुटी धार्चे गाउँपालिकाबाट संकलन तथा निकासी भएको छ । यस्तै, बारपाकसुलिकोट तथा अजिरकोट गाउँपालिकाबाट पनि जरिबुटी संकलन तथा निकासी भएको कार्यालयको भनाई छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर जडिबुटी संकलन बापत २० लाख १६ हजार ४०४ रुपैँया राजश्व संकलन भएको थियो । ४६ हजार ९७४ केजी जडिबुटीबाट उक्त रकम संकलन भएका हुन् । गत आर्थिक वर्ष भने जडिबुटी संकलन बापतको राजश्व रकम र संकलित जडिबुटीको परिणम दुवैमा ह्रास आएको छ ।
आव २०८१/०८२ मा मनासलु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडिबुटी संकलन तथा निकासी भएको आयोजनाको तथ्याङ्कमा उल्लेख छ । जसबाट १२ लाख ७० हजार ४१९ रुपैँया राजश्व संकलन भएको थियो । गत आव भने एमक्यापको जडिबुटी राजश्व ह्वातै घटेको हो ।
व्यवसायीहरुले सिधैँ तिब्बती नाकामा हुँदै जडिबुटी बिक्री वितरण गर्ने हुँदा राजश्वमा गिरावट आएको एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले बताए । ‘विगतका वर्षहरुमा नाका खुलेको थिएन । त्यसैले व्यापारीहरुले बाध्य भएर यहीँ जडिबुटी बेच्थे, राजश्व बढ्थ्यो’, उनले भने, ‘नाका खुलेदेखि उता उतैबाट जडिबुटी बेच्ने भएकाले यताको राजश्व घटेको हो ।’ साथै, यार्सागुम्बाको बजारभाउ घटेकाले पनि राजश्व संकलनमा गिरावट आएको उनले तर्क गरे । ‘हामीले सबैभन्दा धेरै यार्सागुम्बाबाटै राजश्व संकलन गथ्र्यौ । आव २०८१/०८२ मा ३४.१९ केजी यार्सागुम्बाबाट १० लाख ८९ हजार ८९० रुपैँया राजश्व संकलन भएको थियो’, ओझाले भने, ‘गत आव २०८२/०८३ मा भने ०.९५ केजी यार्सागुम्बाबाट जम्मा २९ हजार ४५० रुपैँया राजश्व संकलन भएको छ ।’ यार्साको बजार भाउ घटेपछि व्यापारीहरुले बिक्री नगरि राखेकाले पनि राजश्व घटेको एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले बताएका छन् ।
मनासलु क्षेत्रमा बुकीफुल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफुल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु, चिराइतो लगायत जडीबुटी संकलन गरेबापत राजश्व लिइएको आयोजनाको भनाई छ ।
गत आव डिभिजन वन कार्यालयको जडिबुटी राजश्वमा पनि गिरावट आएको छ । कहिलेकाँही जडिबुटी नपाउने हुँदा पनि विगतका वर्षहरुको तुलनामा गत वर्ष कम जडिबुटी संकलन भएको हुनसक्ने कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए । ‘गत आर्थिक वर्ष हामीले वनलसुन संकलनमा पनि रोक लगाएका थियौँ । त्यसैले पनि राजश्व घटेको हो’, उनले भने, ‘कहिलेकाँही जडिबुटी व्यवसायीहरु पनि जडिबुटी संकलन नियन्त्रण गर्छन् । यसले जडिबुटी लोप हुनबाट जोगाउँछ र उत्पादन पनि बढाउँछ ।’
डिभिजन वन कार्यालयले भने अमला, अल्लो, कालादाना, कालो मुसली, कुट्की, कुरिलो, जंगली मह, टिमुर, तेजपात, नागबेली, निरमसी, पदमचाल, पाखनवेद, मजिठो, रातो च्याउ, लोक्ता र शिलाजितबाट राजश्व संकलन गर्ने गरेको छ ।
कार्यालयले सामुदायिक वन उपभोक्ताहरुसँग साँझेदारी गरेर जडिबुटी संरक्षण तथा खेती बिस्तारका कार्यक्रमहरु संचालन गरेको छ ।




