
बाह्रकिलो बजार व्यवस्थापनमा राजनीतिक बाछिटा, गृहमन्त्रीको अपरिपक्क निर्देशन आलोचित
विकास मरहट्टा ।
सार्वजनिक जग्गा अतिक्रमण गरी गोरखा नगरपालिका–११ मा बिस्तार भएको बाह्रकिलो बजार हटेसँगै नयाँ ठाउँमा बजार बसाउन स्थानीय बीच होडवाजी चलेको छ । बिशेष गरी बाह्रकिलो र तेह्रकिलोका स्थानीयहरु अस्वस्थ्य प्रतिस्पर्धामा उत्रिएका छन् । आ–आफ्नोतिर बजारको चहपहल तान्न पूर्वाधार निर्माण गर्न उनीहरु तल्लीन देखिन्छन् ।
बजार कुन ठाउँमा बसाल्ने भन्ने विषयलाई राजनीतिले समेत गिजोलेको छ । हाल छेवेटार हुदै बिशेष गरी २ नम्वर क्षेत्र (सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट, पालुङटार लगायतका स्थानीय तहका अधिकांश ठाउँहरु) जाने मुख्य नाकाको रुपमा बाह्रकिलो चोक रहँदै आएको छ । करिव २० बर्षदेखि बजार बस्दै आएको सो क्षेत्र सवारीहरुको ‘जक्सन’ समेत रहेकाले थप चलायमान थियो । वन क्षेत्र अतिक्रमण गरी बसेको उक्त बजार सरकारले हटाएसँगै आफ्नो ठाउँमा बजार स्थापना गराउन बाह्रकिलो र तेह्रकिलोका स्थानीय बीच अस्वस्थ्य प्रतिस्पर्धा देखिएको छ । राजनीतिक पहुँचको आधारमा दवाव समेत सृजना हुन थालेको छ ।
हाल बिस्थापित भएको बजारदेखि करिव पाँच सय मिटर माथि बजार बसाउन बाह्रकिलोका स्थानीय चाहन्छन् । सो क्षेत्रमा सडकको दायाँ–बायाँ १५ मिटरभित्र पर्ने संरचनाहरु उनीहरुले हटाइसकेका छन् । ‘टोल विकास संस्थाको बैठकले निर्णय गरेर सडकको दायाँ–वायाँ १५ मिटरभित्र पर्ने घर अगाडिको जग्गा सडकलाई खालि गरिसक्यौँ,’ बाह्रकिलो टोल विकास संस्थाका अध्यक्ष सुरेन लामिछानेले भने, ‘त्यहाँ सडक विस्तार भएर ग्राभेल पनि भइसक्यो ।’ बजार व्यवस्थापनका लागि शौचालय र खानेपानीको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । ‘सार्वजनिक शौचालय निर्माण हुदैछ, खानेपानीका लागि मुलबाटै आएको पानीको धारा छ,’ उनले भने । सवारी पार्किङका लागि ठाउँ समेत निर्माण भइसकेको उनले बताए ।
अहिले छेवेटार हुदैँ २ नम्वर क्षेत्र जाने सवारीहरु त्यहीँबाट आउजाउ गर्न थालेका छन् । बजार बिस्तार क्रमशः हुदैछ । बिस्थापित व्यापारीहरुलाई स्थानीयले निशुल्क आफ्नो जग्गामा टहरा बनाएर व्यापार गर्न दिएका छन् । यातायातका तीन वटै काउन्टर त्यही राखिएको छ । सो ठाउँबाट डुलडुले हुदै छेवेटार निस्कने छोटो बाटो समेत रहेको स्थानीय बताउँछन् । स्तरोन्नति समेत भइसकेकाले सोही सडक हुँदै सहज रुपमा सवारी आउजाउ हुने गरेको उनीहरुको भनाइ छ । तेह्र किलोभन्दा भौगोलिक हिसावले सो क्षेत्र बजार बस्न उपयुक्त रहेको उनीहरु दावी गर्छन् । ‘तेह्रकिलो बजार अलि भिरालो छ, साँघुरो पनि भएकाले दुर्घटना जोखिम हुन्छ,’ लामिछानेले भने, ‘हाम्रो ठाउँ सम्म भू–भाग र फराकिलो भएकाले बजार व्यवस्थापनका लागि माथिभन्दा धेरै उपयुक्त छ ।’
यता तेह्रकिलोका स्थानीय पनि आफ्नो ठाउँमा बजार बसाउन ठुलै कसरत गरिरहेका छन् । डोजर लगाएर सडकको दायावायाका केही संरचना हटाउने काम भइहेको स्थानीय बाबुराम काप्रीले बताए । पानी कटाउन नालामा पाइप राख्ने र पार्किङका लागि ठाउँ बनाउने काम समेत भइरहेको उनले जानकारी दिए । तेह्रकिलोको पुरानो बजारलाई पुनर्जिवित गर्न खोजेपनि प्रशासन र सम्बन्धित निकायले चासो नदिएको उनको गुनासो छ ।
‘यो पुरानो बजारलाई व्यूँताऔँ, व्यवस्थित गरी चलायमान बनाऔं भनेर हामीले वडादेखि प्रशासन कार्यालयसम्म माग राख्यौँ,’ उनले भने, ‘तर हाम्रो पहुँच नपुगेर होला कसैले चासो दिनुभएन ।’ अहिले अपहरण शैलीमा बाह्रकिलोमा बजार बिस्तारको काम अघि बढेको उनले आरोप लगाए ।
माग सम्बोधनका लागि उनीहरुले गृहमन्त्री समेत गुहारेका छन् । केही दिन अघि गोरखा आएका गृहमन्त्री सुधन गुरुङलाई बाटोमै रोकेर उनीहरुले आफ्ना माग सुनाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध काप्रीसहित केही कार्यकर्ताले २ नम्वर क्षेत्र जाने सवारीको जक्सन तेह्रकिलो बनाउन माग गरेका थिए । सामान्य बिषय भएपनि आफ्नै पार्टीका व्यक्तिहरु भएकाले उनीहरुको मागलाई गृहमन्त्रीले वेवास्ता गर्न सकेनन् ।
मध्यमार्गी उपायको नाममा उनले छेवेटार हुदै २ नम्वर क्षेत्र जाने सवारीका लागि तेह्र किलोदेखि बाह्रकिलोसम्मको बाटोलाई ‘वान–वे’ बनाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । ‘त्यो बाटोलाई वान–वे बनाउनुप¥यो, जाँदा तेह्रकिलोबाट गए बाह्रकिलोबाट फर्कने वा बाह्रकिलोबाट जाने तेह्रकिलोबाट आउने व्यवस्था मिलाउनुप¥यो । सात दिनभित्र यो काम हुनुप¥यो,’ प्रजिअ तुलसीबहादुर श्रेष्ठलाई उनले निर्देशन दिए ।
गृहमन्त्रीको अल्टिमेटमको सात दिन बितिसकेको छ । तर उनको आदेश अहिलेसम्म कार्यान्वयन भएको छैन ।
आफ्नो पार्टीका कार्यकर्ताको माग सम्बोधन गर्दै गर्दा उक्त निर्णय व्यवहारिक छ कि छैन ? भन्ने हेक्का गृहमन्त्रीले गरेनन् । सम्भवतः त्यहाँको भूगोल, बाटोको अवस्था र उनको निर्देशनले पार्ने प्रभावबारे उनी आफै अनविज्ञ छन् । आफ्नो पार्टी निकटका केही व्यक्तिहरुलाई खुशी पार्न उनले दिएको निर्देशन व्यवहारिक नभएको भन्दै आलोचना समेत हुन थालेको छ ।
‘तेह्रकिलोबाट वान–वे बनाउने कुरा सम्भव छैन, बाटोको स्तर हेर्दा तेह्रकिलोबाट बस तल जान सक्दैन,’ यातायात व्यवसायीसमेत रहेका बाह्रकिलोका लामिछानेले भने, ‘फेरि वान–वे गर्दा दरौँदी फाँटमा खेती भएको धान पराल ल्याउन किसानलाई घुमेर आउनुपर्छ, यसले खर्च बढाउछ ।’ गाउँघरमा ट्याक्टर हिड्ने उक्त बाटोलाई ‘वान–वे’ बनाए आन्दोलन गर्ने उनले चेतावनी दिए ।
गृहमन्त्रीको ‘वान–वे’ को निर्देशनप्रति यातायात व्यवसायी पनि खुशी देखिदैनन् । गोरखा दरौँदी यातायात कम्पनी प्रालिका अध्यक्ष दिपक बोहराले तेह्रकिलोबाट तल झर्ने सडक साँघुरो र अप्ठ्यारो भएकाले प्राविधिक हिसावले उपयुक्त नरहेको बताए । ‘नीति बनाएपछि सबैले लागू गर्नुपर्छ तर वान–वे बनाउँदा प्राविधिक हिसावले तेह्रकिलोबाट तल जाने बाटो अप्ठ्यारो छ, ठूला सवारीलाई झन् समस्या हुन्छ,’ उनले भने ।
पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिका सेवा प्रदायक प्रमुख प्रविण बस्नेतले पनि गृहमन्त्रीको निर्णय व्यवहारिक नभएको तर्क गरे । ‘तेह्रकिलोबाट छेवेटार झर्ने सडक ओरालो अनि साँघुरो छ, गाडी चलाउन समस्या छ,’ उनले भने । भौगोलिक धरातल र आवश्यक पूर्वाधारका हिसावले पनि तेह्रकिलोभन्दा बाह्रकिलो बजार बसाउन उपयुक्त ठाउँ रहेको उनको भनाइ छ ।
तर तेह्र किलोका स्थानीय भने ‘वान–वे’ लागू गर्नुपर्छ भन्नेमा छन् ।
अस्तित्वको बिषय बनाइएको बजार व्यवस्थापनमा राजनीतिक बाछिटा समेत देखिन थालेको छ । स्रोतका अनुसार तेह्र किलोमा बजार बसाउन रास्वपाका नेता कार्यकर्ता तल्लिन छन् । बाह्र किलोमा बजार बसाउन माओवादी कांग्रेसको एक मत छ ।
तेह्रकिलोमा बजार बसाउन रास्वपाकै कार्यकर्ताहरुले नेतृत्व तहलाई दवाव दिदै आएको बाह्रकिलोका स्थानीयको आरोप छ । ‘बाह्रकिलोबाट उठेको बजार तेह्र किलोमा राख्नुपर्छ भनेर गृहमन्त्रीलाई उचाल्ने रास्वपाकै कार्यकर्ताहरु हुन्,’ बाह्रकिलोका एक स्थानीयले भने ।
तेह्र किलोका काप्री आफूहरुलाई ‘घण्टेको बजार’ भन्ने आरोप लाग्ने गरेको बताउँछन् । तर बजार व्यवस्थापनमा कुनै राजनीतिकरण नगरेको उनले दावी गरे । ‘सुनसान बनेको यो पुरानो बजारलाई चलायमान बनाउन पाए हुन्थ्यो भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘यहाँ काउण्टर राखेर यहीबाट गाडी चले बजार चलायमान हुन्थ्यो भनेर गृहमन्त्रीलाई भनेका थियौ, उहाँ आफैले वान–वे बनाए राम्रो होला भन्नुभएको हो ।’
त्यसो त गृहमन्त्रीको वान–वे बनाउने निर्देशनको उनकै पार्टीका वडा सभापतिले बिरोध गरेका छन् । वडा नम्वर ११ का रास्वपा सभापति डोलबहादुर थापा(मोहन) ले बिज्ञप्ती जारी गर्दै केही गुटगत स्वार्थ समूहले आफ्नो निजी स्वार्थका लागि स्थानीय सरोकारको बिषयमा भ्रामक कुरा बोल्न लगाएको उनको आरोप छ ।
‘गृहमन्त्री सुधन गुरुङ गोरखा आउने क्रममा गोरखा नगरपालिका वडा नम्बर ११ का राष्ट्रिय स्वतन्त्र पार्टीका केही साथी र गोरखा नगर पालिका नगर सभापतिको प्रत्यक्ष सहभागितामा वडा पाटी सभापति सहितका जिम्मेवार साथीहरुलाई थाहा नदिइ केही गुटगत स्वार्थ समुहले केन्द्रीय नेतृत्व समेतलाई आफ्नो निजी स्वार्थको लागि भ्रममा पारी स्थानीय सरोकारको विषयमा भ्रामक कुरा बोल्न लगाएर सिङ्गो पार्टीपंतmीलाई असर पार्ने क्रियाकलाप देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त क्रियाकलाप पार्टी हित विपरीत रहेको र जसले गर्दा पार्टीप्रति जनताको नकरात्मक सोच पैदा हुने स्थिति भएकोले वडा पार्टीको गम्भीर ध्यानकर्षण भएको छ ।’
वन क्षेत्र अतिक्रमण गरी बाह्रकिलोमा बसेको बजार हटाउनु अघि नै तेह्रकिलोमा बजार बिस्तार गर्न भन्दै गृहमन्त्रीले प्रजिअलाई दवाव दिदँै आएका थिए । बजार व्यवस्थापनको बिषयमा स्थानीय तहलाई जिम्मेवारी दिइएको प्रजिअ तुलसीबहादुर श्रेष्ठले बताए । ‘त्यसको जिम्मा स्थानीय तहलाई हो,’ उनले भने, ‘त्यसमा हामीले सहजिकरण गरिदिने हो ।’




