
त्रिपालभित्र रोएर बित्छ पहिरो पीडित देवलका ८३ घरपरिवारको रात
शिव उप्रेती
चुमनुब्री गाउँपालिका ३ देवल गाउँकी ६० बर्षीया पुन्नीमाया गुरुङको झिमिक्क आँखा नलागेको दुईहप्ता भयो । अचेल हररात झमझम पानी पर्छ अनि, घरमुनि गड्गडाएर पहिरो झरिरहन्छ । चिन्ता र अत्यासले उनको हररात त्रिपालभित्र रोएर बित्छ ।
हेर्दाहेर्दै आँखैअघि पहिराले घर लगेको चारबर्ष भयो । ओत लाग्ने घरमात्र होइन, गरिखाने बारी पनि पहिराले लग्यो । त्यसयता उनको परिवार त्रिपालमुनि जीवन गुजारिरहेकोछ ।

‘माथिबाट झमझम पानी परिरहन्छ, तलबाट गुटुटु पहिरो झरिरहन्छ । कसरी निदाउने ?’, उनी भन्छिन्, ‘रातभर झिमिक्कै आँखा लाग्दैन । दिनभरि खेती किसानीको काम गर्नुपर्छ । सँधै बिरामीजस्तै छ हामी देवलका मान्छे ।’
कृष्ण गुरुङको पाँच जनाका परिवार पनि त्रिपालभित्र बसेको दुई हप्ता भयो । ‘हाम्रो घरको आँगनसम्म पहिरो आइपुगेको छ । घर टेढो भएर बसेको छ । झ्याल पनि लाग्दैन, ढोका पनि लाग्दैन’, उनी भन्छन्, ‘सँधैको पहिरोले मन थाम्न सक्ने त रुदैनन् । कमजोर मन हुनेहरु त रोएरै बसिरहेका छन् ।’

कृष्ण र पुन्नीको मात्र होइन, देवल गाउँका ८३ घरपरिबारको यो साझा कथा हो । यो बर्खामा पानी पर्न थालेपछि चार घर बगिसक्यो । ‘यो बर्ष पानी पर्न थालेपछि कान्छा गुरुङ, कुशमान गुरुङ, लाली गुरुङ र रामकुमार गुरुङको घरचाहिँ स्वाट्टै लग्यो’, उनी भन्छन्, ‘अरु घरहरु पनि सबै बांगो टेढो भएर बसेका छन् । कुनैको पनि झ्यालढोका लाग्दैन ।’ पहिरोबाट टाढा घर भएकाहरु घरमै बसे पनि धेरैजसो घरधुरी त्रिपालमुनि बसोबास गरिरहेका उनको भनाइ छ । देवलगाउँको रुवाबासी हेर्न बेलाबेला बाहिरका मान्छे पनि आउने गर्छन् । नापजाँच गरेर जान्छन् । तर नतिजा केही नआएर गाउँले आजित भैसके ।

८३ घर स्थानान्तरण गर्न सिफारिस
देवल गाउँ पहिरोको जोखिमपूर्ण भएको धेरै बर्ष भयो । धेरैपटक भूगर्भविद्हरु आउने, अध्ययन गर्ने, अति जोखिम ठहर गर्दै तत्काल स्थानान्तरण गर्न सिफारिस गर्ने गरेको पनि धेरै बर्ष भयो, तैपनि यो गाउँ स्थानान्तरण हुन सकेको छैन ।
अन्तिम पटक गत जेठ महिनामा पनि राष्टिूय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरेको थियो । ‘गत जेठ २८ गते पनि भूगर्भविद्हरुको टोली अध्ययन गर्न आउनु भा’थ्यो’, वडाअध्यक्ष रामकुमार गुरुङ भन्छन्, ‘उहाँहरुले देवलका ८३ घरलाई तत्काल स्थानान्तरण गर्नुपर्छ भनेर सिफारिस गर्नुभएकोछ ।’ स्थानान्तरणका लागि ठूलो फिलिम, सानो फिलिम र पाती गाउँ प्रस्ताव गरेको उनले बताए । विगत तीन दशकदेखि पहिरोको चपेटामा परेका स्थानीयबासी जहाँ सारे पनि सर्न तयार रहेको बताउँछन् ।

‘वडाले पनि पहल गरिरहेका छौँ भन्छ, गाउँपालिकाले पनि पहल गरिरहेका छौँ भन्छ । त्यहाँभन्दा माथि त बुझ्ने ठाउँ पनि थाहा छैन, कसलाई सोधुँ’, स्थानीय कृष्ण गुरुङ भन्छन्, ‘जहाँ सार्दिए पनि पनि हुन्छ, हामी तयार छौँ । केन्द्रमा हाम्रो मान्छे नभएर हो कि । अहिले त गृहमन्त्री पनि हाम्रै गाउँको हुनुहुन्छ । अब त बाँचिन्छ कि भन्ने आशा छ । गाउँको दुख, पिर बुझिदिनुहुन्छ कि भनेर जिताएर पठाएका मान्छे गृहमन्त्री हुनुभएको छ । केही हुन्छ कि भन्ने आशा छ ।’ विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सो गाउँको अध्ययन गरेको प्राधिकरणका कार्यकारी प्रमुख, सहसचिव प्रदीपकुमार कोइरालाको भनाइ छ । ‘हामीले पहिरो पनि अध्ययन गरेका हौँ ।
स्थानान्तरण गर्नुपर्ने घरसंख्या पनि निश्चित गरेका छौँ’, उनले भने, ‘उनीहरुलाई कहाँ स्थानान्तरण गर्ने भन्ने तीनवटा वैकल्पिक ठाउँ छान्न पनि भनेका हौँ । छानेका ठाउँहरुको पनि अध्ययन भएको छ । अब अन्तिम प्रतिवेदन बन्ने तयारीमा छ ।’ प्राधिकरणले उनीहरुलाई स्थानान्त रणको व्यवस्था गर्ने तर स्थानान्तरण गाउँपालिकाले गर्ने उनको भनाइ छ । यहाँको माटो हिउँद बर्खै पहिरिरहने खालको रहेको प्राधिकरणका भूगर्भविद् प्रकास पोखरेल बताउँछन् । ‘पहिरो नियन्त्रणको कुनै सम्भावना छैन । त्यो बगेरै जाने हो’, उनले भने, ‘त्यसैले यसको एउटै विकल्प भनेको गाउँ नै स्थानान्तरण गर्ने भन्ने हो ।’ त्यो प्रक्रियामा रहेको उनको भनाइ छ ।
३० बर्ष पुरानो पहिरो
देवलको पहिरो अहिलेको होइन, तीन दशक पुरानो हो । ‘यहाँ पहिरो जान थालेको ३० बर्ष भयो’, वडाअध्यक्ष रामकुमार गुरुङ भन्छन्, ‘पहिले यहाँ लोक्पा, ब्लाक्सिगङ र नस्युबला भन्ने तीनवटा टोल थियो । तीनवटा टोलका करिब ४० घर अहिले पहिरो भित्र छ ।’ पहिरोले त्यहाँको जलविद्युत आयोजना र फिलिम प्रावि पनि लगेको उनले बताए । ‘तीनवटा गाउँ त पहिरोभित्र छ’, उनले भने, ‘स्कूल र लघु जलविद्युत आयोजना पनि पहिरोभित्रै छ ।’ ती गाउँका ४० घर धुरी पनि देवल गाउँमा गएर बसोबास गरेका उनले बताए ।

गत जेठ यता प्राधिकरणका टोली, कन्सल्ट्याण्टका टोली दुईपटक आएर अध्ययन गरेका गाउँपालिका का अध्यक्ष निमा लामा बताउँछन् । ‘पटक पटक आएर अध्ययन गरिसकेको छ । अहिले देवलमा ८३ घर स्थानान्तरण गर्नुपर्छ भन्ने निश्कर्ष निकालेका छन्’, उनले भने, ‘ठाउँका विकल्पहरुमध्य पनि फिलिममा स्थानान्तरण गर्ने भनिएको छ । तर एउटा समस्या के रहेछ भने प्राधिकरणले दिने भनेको पाँचलाख रुपैयाँ रहेछ । त्यतिले जग्गा जोहो गर्न मात्र पनि पुग्दैन । घर के ले बनाउने ?’ आर्थिक व्यवस्थापन जटिल बनेको उनको भनाइ छ ।




