
डिभिजन वन कार्यालयद्वारा दुईकरोड २८ लाख राजश्व संकलन
डिभिजन वन कार्यालय गोरखाले गत आर्थिक वर्ष २०८२/०८३ मा दुई करोड २८ लाख ६१ हजार रुपैँया राजश्व संकलन गरेको छ । वार्षिक राजश्व र मूल्य अभिबृद्धि करसहित उक्त रकम संकलन भएको हो । कार्यालयका अनुसार सबैभन्दा धेरै निजी वनहरुको मुल्य अभिवृद्धि कर अन्तरगत १ करोड ११ लाख ३९ हजार रुपैँया राजश्व संकलन भएको छ ।
यस्तै, वन क्षेत्र रोयल्टी (जडिवुटी संकलन, वेवारिसे, जोखिमयुक्त आयोजना तथा मुद्धाबाट लिलाम) बापत २३ लाख ५९ हजार संकलन भएको कार्यालयले जनाएको छ ।
निजी तथा सामुदायिक वन प्रदेश सेवा शुल्क र हाइडूोपावर अन्तरगत ८९ लाख ५५ हजार र राष्टिूय वनको काठ दाउरा बिक्रीबाट ३ लाख ९७ हजार राजश्व संकलन गरिएको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए । गत आव कार्यालयले ७९.४२ प्रतिशत वित्तिय प्रगति हासिल गरेको उनले जानकारी गराए ।
उनका अनुसार कार्यालयलाई प्रदेश सरकारबाट पाँच करोड २४ लाख ४४ हजार र संघीय सरकारबाट ८२ लाख २८ हजार गरी जम्मा ६ करोड ६ लाख ७२ हजार बजेट आएको थियो । जसमध्ये चार करोड ८१ लाख ८६ हजार खर्च भएको शाण्डिल्यले बताए ।
प्रदेश सरकारले कार्यक्रम तर्फ (पूँजीगत खर्च)का लागी बिनियोजन गरेको रकममा ७६.५५ प्रतिशत वित्तिय प्रगति रहेको कार्यालयले जनाएको छ । चालु खर्च (प्रशासनिक खर्च) को वित्तिय प्रगति भने ८० प्रतिशत रहेको बताइएको छ । संघको प्रशासन (चालु खर्च) र कार्यक्रम (पूँजीगत) तर्फ समग्रमा ९७.६७ प्रतिशत प्रगति रहेको उल्लेख छ ।
गत वर्षहरुको तुलनामा यो वर्ष कार्यालयको राजश्व संकलन दर बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले एक करोड ९८ लाख ५१ हजार रुपैँया राजश्व संकलन गरेको थियो । यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा एक करोड ३७ लाख २८ हजार राजश्व संकलन भएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । राजश्व बृद्धि हुनुमा हाइडूो पावर आयोजनाहरुको प्रमुख हात रहेको कार्यालय प्रमुख शाण्डिल्यले बताएका छन् ।
गत आर्थिक वर्ष कार्यालयले हाइडूो पावर आयोजनाहरुबाट मात्र करिब ७५ लाख रुपैँया राजश्व संकलन गरेको उहाँको भनाई छ । ‘विशेषगरी धार्चे गाउँपालिकामा संचालनमा आएका हाइडूाृ पावर आयोजनाहरुबाट राजश्व संकलन गरेका हौँ’, उनले भने, ‘गत आर्थिक वर्ष अघिल्लो वर्षहरुको तुलनामा बढी काठ दाउरा बिक्री समेत गरेका छौँ ।’




