| बिहिबार, साउन ६, २०८३

घ्याम्पेशाल–ताकुकोट सडक समस्या यथासीघ्र समाधान गर

गोरखाका प्रमुख ग्रामीण सडकमध्य एक, घ्याम्पेशाल–ताकुकोट सडक अहिले बन्द रहेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं. ८ पन्द्रुङ ढापमा कालोपत्र गरिएको सडक भासिएपछि सडक अवरुद्ध भएको हो ।

अहिले त्यहाँ करिब तीस मिटर सडक पहिरिएर एकसय मिटरभन्दा तल पुगेको छ । पैदल हिँड्न मिल्ने बाहेक मोटरसाइकल पार गर्न पनि नमिल्ने गरी बिग्रिएको छ । सडक रहेको ठाउँमा कमेरे माटो छ । सडकमुनि पानीको मुल छ । पानीले यहाँको लिसाइलो माटो निरन्तर बगाइरहन्छ । त्यसैले यहाँ अस्थायी रुपमा टालटुल गरेर समाधान हुने अवस्था छैन ।

केही दिनअघि स्थानीय स्रोत जुटाएर पहिरो छोप्ने प्रयत्न भएको थियो, तर भोलिपल्टै सबै बगेर गयो । अहिले त्यो बेलाको भन्दा पनि डरलाग्दो गरी पहिरो गएको छ । त्यसैले यसलाई अल्पकालीन होइन, दीर्घकालीन समाधान खोज्नु आवश्यक छ । अहिलेका लागि केही घुमाउरो वैकल्पिक बाटो खोजी भइरहेको छ ।

सो वैकल्पिक सडकबाट यात्रा गर्दा करिब एक किलोमिटर घुमाउरो पर्छ । त्यतिमात्र होइन, सो वैकल्पिक सडकबाट बस, ट्रक जस्ता सवारी साधन हिँडाउन मिल्दैन । अब पालिका सरकार र पूर्वाधार कार्यालयले समन्वय गरी सो वैकल्पिक सडक स्तरोन्नतिको काम छिटो गर्नुपर्छ, ताकि, भोलि भविष्यमा पनि यस्तै समस्या परेमा प्रयोग गर्न सकियोस् ।

अनि दीर्घकालीन समस्या समाधानका लागि धेरै तल, जग बलियो बनाई पर्खाल लगाई उकास्नु पर्छ । अनि यहाँ निरन्तर बगिरहने पानीलाई माटो नबगाउने गरी कतै कटाएर निकास दिनुपर्छ ।यो सडक अवरुद्ध हुँदा विशेषगरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ३, ४, ६ र ८ का बासिन्दा आवतजावत गर्न समस्या भएको छ । त्यसैले समस्या समाधानमा सबैको याथासीघ्र प्रयत्न रहोस् ।

प्रतिक्रिया दिनुहोस्