| सोमवार, कार्तिक २३, २०८३

घ्याम्पेशाल–ताकुकोट सडक पाँच दिनदेखि अवरुद्ध

घ्याम्पेशाल–ताकुकोट सडक विगत पाँच दिनदेखि अवरुद्ध छ । गत बिहिबार राती सडक भासिएपछि यातायात अवरुद्ध भएको वडाअध्यक्ष शरण गुरुङले जानकारी दिए । बारपाक सुलिकोट गाउँपालिका वडा नं. ८ पन्द्रुङ ढाप भन्ने ठाउँमा सडक भासिएको उनले बताए ।

सडक भासिएपछि अहिले त्यहाँबाट मोटरसाइकलसमेत कटाउन नसकिने अबस्थामा पुगेको उनको भनाइ छ । सडक अवरुद्ध भएपछि बारपाक सुलिकोट वडा नं. ६ र ८ का बासिन्दालाई समस्या भएको छ । ‘गत विहिबार राती आठबजेतिर त्यो ठाउँमा विजुलीको पोल ढलेको रहेछ । भोलिपल्ट शुक्रबार बिहान अलिअलि पहिरो पनि गएछ’, उनले भने, ‘त्यसपछि विस्तारै–विस्तारै पहिलो खस्दाखस्दै अहिले त मोटरसाइकल कटाउने ठाउँ पनि बाँकी छैन ।’

सो ठाउँमा करिब ३० मिटर लामो पहिरो एकसय मिटर तलसम्म खसेको वडा नं. ७ का वडाअध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । सडक भासिएपछि एक किलोमिटर घुमाउरो वैकल्पिक सडक त खोलिएको छ तर त्यो सडकमा जीपभन्दा ठूलो सवारी साधन नगुड्ने गुरुङले बताए । ‘सडकमै पानीको मुल छ । बगेको बग्यै गर्छ’, उनले भने, ‘अब त्यो पानीलाई व्यवस्थित गरी राम्ररी जग निकालेर दीर्घकालीन रुपमा पक्की सडक नबनाए उपाय छैन । अल्पकालीन रुपमा यातायातका साधन चलाउन त्यही घुमाउरो बाटोमा बस, ट्रक पनि चलाउन सक्ने बनाउनु पर्छ ।’

बर्खाका बेला सो सडकलाई केही पनि गर्न नसकिने पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ । कमेरे माटो भएको र पानीको मुल पनि भएकाले निरन्तर पहिरो खसिरहने कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्