
गोरखाका प्रतिष्ठित व्यवसायी धिरजबहादुर मास्केको निधन
गोरखाका प्रतिष्ठित सामाजिक व्यक्तित्व तथा व्यवसायी धिरजबहादुर मास्केको निधन भएको छ । विगत एक महिनादेखि विरामी भएर थला परेका मास्केको ८६ बर्षको उमेरमा सोमबार दिउसो चार बजे मृत्यू भएको उनका आफन्त सितलकाजी मास्केले जानकारी दिए ।
सिकिस्त भएपछि मास्केलाई उपचारका लागि आइतबार गोरखा अस्पतालमा भर्ना गरिएको थियो । मास्के गोरखा उद्योग वाणिज्य संघका संस्थापक सचिव, तुलसी मेहेयर युनेस्को क्लव गोरखाका संस्थापक अध्यक्ष हुन् । त्यस्तै मास्के निर्माण व्यवसायी संघ गोरखाका पूर्व अध्यक्ष, द्रव्यशाह बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष, बालमन्दिर माध्यमिक विद्यालयका पूर्व अध्यक्ष हुन् ।
जिल्ला पञ्चायत सदस्य समेत बनेका मास्के रोटरी क्लव अफ गोरखाका पूर्व अध्यक्ष, लायन्स क्लव अफ गोरखाका पूर्व अध्यक्ष, गोरखा जेसिजका पूर्व अध्यक्ष पनि हुन् ।
उनले गोरखामै पहिलो पटक वि.सं. २०३३ सालमा होटल गोरखा बिसौनी निर्माण गरी हालसम्म पनि सञ्चालन गरिरहेका थिए ।




