
४८.७९ प्रतिशतले घट्यो ट्राफिक राजश्व, सवारी दुर्घटना बढ्यो
चालु आर्थिक बर्ष जिल्ला ट्राफिक प्रहरी कार्यालयको राजश्व घटेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा आर्थिक बर्ष २०८२/०८३ मा ४८.७९ प्रतिशतले राजश्व घटेको हो । गत आर्थिक वर्ष कार्यालयले ५५ लाख १५ हजार ५०० रुपैँया राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा भने कार्यालयले एक करोड ७ लाख ७१ हजार रुपैँया राजश्व संकलन गरेको थियो ।
११ हजार ४३ सवारी साधनहरुलाई कारबाही गरेबापत कार्यालयले उक्त राजश्व संकलन गरेको हो । गत आर्थिक वर्ष अघिल्लो आव २०८१/०८२ को तुलनामा सवारी साधन कारवाहीमा पर्ने दर पनि ४२.८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभर जम्मा ६ हजार ३११ वटा सवारी साधनहरु कारबाहीमा परेका थिए ।
यसरी, कारबाही दर ४२.८ प्रतिशतले र ट्राफिक राजश्व ४८.७९ प्रतिशले घट्नु सकरात्मक पक्ष रहेको जिल्ला ट्राफिक प्रमुख सुरज अर्यालले बताए । जिल्लाका नागरिकहरु सचेत बनेर ट्राफिक नियमको पालना गरेकाले यो वर्ष राजश्व घटेको उनले जानकारी दिए । ‘ट्राफिक राजश्व घट्नु हाम्रा लागि सकरात्मक पक्ष हो, यसले जनताहरुमा ट्राफिक सचेतना बढेको जनाउँछ’, उनले भने । नागरिकहरुमा ट्राफिक सचेतना बढाउन कार्यालयले विभिन्न जनचेतना मूलक कार्यक्रमहरु समेत गर्दै आएको उनको भनाइ छ ।
ट्राफिक कार्यालयले आव २०८०/८१ मा ८५ लाख ७१ हजार राजश्व संकलन गरेको थियो । १० हजार ४७७ सवारी साधनलाई कारबाही गरेबापत उक्त राजश्व संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० मा भने कार्यालयले ७६ लाख ३० हजार राजश्व संकलन गरेको थियो । सो आर्थिक वर्ष कुल १० हजार ३०० सवारी साधान कारबाहीमा परेका थिए ।
कार्यालयको तथ्याङ्क अनुसार गत आव सवारी नियम उल्लघंन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर चालक रहेका छन् । गत आव कार्यालयले दुईहजार ३७० मोटरसाइकल तथा स्कुटर चालकलाई कारबाही गरेको हो । उनीहरुबाट मात्र १९ लाख ६५ हजार रुपैँया राजश्व संकलन भएको उल्लेख छ ।
मोटरसाइकलपछि सबैभन्दा धेरै कार र जीप कारबाहीमा परेका छन् । कुल एकहजार ३०४ काररजीप कारवाहीमा परेको र उनीहरुबाट ११ लाख ४३ हजार ५०० रकम राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । यस्तै, कार्यालयले १२ सय ४ ट्रकरटिपर कारबाही गरेबापत ११ लाख ६२ हजार ५००, ८ सय ८३ बसबाट ८ लाख १० हजार, ४५५ ट्याक्टरबाट ३ लाख ६९ हजार र टेम्पो तथा अन्य ९५ सवारीबाट ६५ हजार ५०० रुपैँया राजश्व संकलन गरेको छ ।
सवारी दुर्घटना बढ्यो
अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक वर्ष जिल्लामा सवारी दुर्घटना हुने दर भने बढेको छ । आव २०८२/०८३ मा जिल्लाभर २४ वटा सवारी दुर्घटना भएका थिए । सवारी दुर्घटनामा पनि गत आव १३ जनाले ज्यान गुमाएका थिए भने २३ जना गम्भीर घाइने बनेका थिए ।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा भने जिल्लाभर १४ वटा सवारी दुर्घटना भएका थिए । जसबाट एकजनाले ज्यान गुमाएका थिए । यस्तै, आव २०८०/८१ मा जिल्लाभर २० वटा र आव २०७९/८० मा २२ वटा सवारी साधन दुर्घटना भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०८०/८१ मा दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच रहेको थियो भने आव २०७९/८० मा सवारी दुर्घटनामा परी १९ जनाले ज्यान गुमाएका थिए ।




