| मङ्लबार, साउन ४, २०८३

सडक वान–वे गर्ने निर्देशनले बाह्रकिलो, तेह्रकिलोमा भाँडभैलो

गत शुक्रबार गृहमन्त्री सुधन गुरुङले तेह्रकिलोका एक समुहलाई एउटा आश्वासन दिए, ‘तेह्रकिलो बजारबाट बाह्रकिलोसम्मको सडकलाई वान–वे बनाउने’ । ‘तेह्रकिलोबाट जान्छन् मात्र, मुनिबाट आउँछन् मात्र । म ट्राफिक राख्दिहाल्छु । चिट काट्दिहाल्छ ।’ उनले आफ्नो सो प्रतिवद्धता कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए, ‘सेभेन डेजभित्र त्यो गर्दिहाल्नुप¥यो ।’

यो निर्देशनले अहिले गोरखा नगरपालिका वडा नं. ११, तेह्रकिलो, बाह्रकिलो क्षेत्रका बासिन्दालाई मात्र छोएको छैन, गोरखा बजार, दरौंदीपारि, पालुङटारदेखि भच्चेक, बारपाक, लाप्राकसम्मका यात्रु तथा यातायात व्यवसायीहरुलाई तरंगित बनाएको छ ।
यसले पद र शक्तिमा रहेको एउटा व्यक्तिको बोलीले कति फरक पार्दो रहेछ भन्ने नमूना प्रदर्शन गरेको छ । त्यसैले भनिएको होला, ‘पदमा रहेकाले ‘इमोशनल’ भएर तत्काल होइन, सोची बिचारीकन बोल्नुपर्छ ।’

कुनै पनि घटनालाई सबै आयामबाट हेरेर, गहिरोगरी विषयबस्तु बुझेरमात्र आफ्ना धारणा राख्नुपर्छ । अनिमात्र पदीय गरिमा रहन्छ । भीडको आवेगमा उत्तेजित भई अथवा करुणामा वहकिएर राखेको धारणा हल्काफुल्का हुन्छ, कार्यान्वयन नहुनपनि सक्छ । नभन्दै गृहमन्त्रीको निर्देशन आएको भोलिपल्टै उनी संवद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सो वडाका सभापति डोलबहादुर थापा(मोहन)ले निर्देशनप्रति असहमति जनाउँदै विज्ञप्ति निकाले ।

‘गृहमन्त्री सुधन गुरुङ गोरखा आउने क्रममा गोरखा नगरपालिका वडा नम्बर ११ का राष्ट्रिय स्वतन्त्र पार्टीका केही साथी र गोरखा नगर पालिका नगर सभापतिको प्रत्यक्ष सहभागितामा वडा पाटी सभापति सहितका जिम्मेवार साथीहरुलाई थाहा नदिइ केही गुटगत स्वार्थ समुहले केन्द्रीय नेतृत्व समेतलाई आफ्नो निजी स्वार्थको लागि भ्रममा पारी स्थानीय सरोकारको विषयमा भ्रामक कुरा बोल्न लगाएर सिङ्गो पार्टीपंतmीलाई असर पार्ने क्रियाकलाप देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त क्रियाकलाप पार्टी हित विपरीत रहेको र जसले गर्दा पार्टीप्रति जनताको नकरात्मक सोच पैदा हुने स्थिति भएकोले वडा पार्टीको गम्भीर ध्यानकर्षण भएको छ ।

यस क्रियाकलापबाट पार्टीमा हुने सम्पूर्ण क्षतिको जिम्मा नगर सभापति स्वयं र वडाका पार्टीमा संलग्न साथीहरु हुने ब्यहोरा यसै विज्ञप्ती मार्फत सम्पूर्णमा जानकारी गराउँदछु ।’ तर सो विज्ञप्ति पार्टीको लेटरहेडमा नभएको र पार्टीको छाप पनि प्रयोग नभएकाले वैधानिक नभएको नगरसभापति शिशिर प्रधानको तर्क छ । ‘त्यो पार्टीको होइन, उहाँको आफ्नो निजी विचार मात्र हो’, प्रधानले भने ।

घाँस, दाउरा, पराल बोकेको ट्रयाक्टर, गिटी, बालुवा बोकेको ट्रिपरलाई गाउँघरको सडकमा वान–वे गराउनु अव्यवहारिक भएको यात्रु तथा यातायात व्यवसायीहरुको तर्क छ ।

केही स्थानीयबासीको स्वार्थयुक्त विचारसंग प्रभावित भई गृहमन्त्रीले बिना अध्ययन मुख्यमार्ग वान–वे गर्ने निर्देशन दिनु उचित नभएको धारणा स्थानीयबासीको छ । ‘गृहमन्त्रीले भनेझैँ वान–वे गर्न सम्भवै छैन । काठमाडौंको जस्तो व्यस्त सडक भए पो वान–वे गर्नलाई । चितवन, भरतपुरमा त वान–वे सडक छैन’, अर्का स्थानीय गणेश खड्का भन्छन्, ‘जंगलबाट तेह्रकिलो उक्लिने त लोकल सडक हो । त्यसमा इञ्जिनियरिङ नै मिलेको छैन । त्यो सडकमा १० चक्के, १२ चक्के ट्रकहरु हिँड्नै सक्दैनन् । चौडा पनि छैन, ग्रेडिङ पनि मिलेको छैन ।’

गाउँले सडकलाई वान–वे गर्न नमिल्ने स्थानीयहरुको भनाइ छ । गृहमन्त्रीले सिडिओलाई निर्देशन गरेपछि त्यसलाई कार्यान्वयन त गर्नैपर्छ तर त्यसले यात्रु तथा यातायात व्यवसायीलाई धेरै असर पार्छ भन्ने कुरा बुझ्नुपर्छ । एक किलोमिटर सडक छाडेर कसैको व्यापार बढाइदिनका लागि यात्रुलाई चार किलोमिटर घुमाउन बाध्य पार्नु जायज नहुने अर्का स्थानीय दीपक थापाको भनाइ छ ।

‘गृहमन्त्रीले पद र शक्तिमा छु भन्दैमा जे पायो त्यही निर्देशन दिनु नाजायज काम हो’, उनले भने, ‘केही स्वार्थ समूहको भ्रममा भीडलाई जे आश्वासन दिए पनि त्यो हामीलाई मतलब भएन, तर सिडिओलाई निर्देशन दिएपछि सिडिओले त्यो कार्यान्वयन गर्नैपर्छ । त्यतिबेला चिट बोकेर ट्राफिक फिल्डमा आयो भने हामी पनि यो देशको युवा नै हो । हामी सडकमा उत्रिन्छौँ । जे हुन्छ, त्यही बेला हुन्छ ।’ गृहमन्त्रीको निर्देशन स्थानीयबासीले प्रतिवाद गर्ने उनको अडान छ ।

प्रतिक्रिया दिनुहोस्