
आरुघाटका २९ महिला समूहलाई सम्भव नेपालको सहयोग
सम्भव नेपालले आरुघाट गाउँपालिकाका २९ वटा महिला समूहलाई विभिन्न सहयोगी सामग्री हस्तान्तरण गरेको छ । गाउँबस्तीका महिला समूहहरूको संस्थागत क्षमता अभिवृद्धि, आर्थिक सशक्तीकरण र सामुदायिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले प्रेम खत्रीको नेतृत्वमा रहेको सम्भव नेपालले आवश्यक सामग्री सहयोग गरेको हो ।
आरुघाट बजारमा आयोजित एक समारोहमा सम्भव नेपालको आर्थिक सहयोग तथा एस दी हिमालयको सहकार्यमा महिला समूहहरूले माग गरेका सामग्रीहरु हस्तान्तरण गरिएको कार्यक्रम संयोजक उत्तम अधिकारीले जानकारी दिए । समूहको आवश्यकता र प्राथमिकताअनुसार टेण्ट, कुर्सी, टेबल, सामूहिक भोजका लागि आवश्यक भाँडाकुँडा, साउन्ड सिस्टमलगायतका सामग्री उपलब्ध गराइएको अधिकारीले जानकारी दिए ।
गाउँबस्तीका महिला समूहहरुका माग र आवश्यकताको आधारमा संस्थाले सामान जुटाएर वितरण गरिएको अधिकारीले बताए । यसले महिला समूहहरूलाई सामाजिक, सांस्कृतिक, सीपमूलक तथा आयआर्जनसँग सम्बन्धित गतिविधि आफ्नै स्रोत–साधनबाट सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बोल्दै आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले महिला सशक्तीकरण नै दिगो विकासको मुख्य आधार भएको उल्लेख गर्दै स्थानीय महिला समूहलाई आत्मनिर्भर र संस्थागत रूपमा बलियो बनाउन सम्भव नेपालको योगदान प्रशंसनीय रहेको बताए ।
सम्भव नेपालका संस्थापक प्रेम खत्रीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा मतदातासँग गरेका प्रतिबद्धतालाई निर्वाचनमा पराजित भए पनि पूरा गर्ने अभियानअन्तर्गत यो सहयोग बताइएको छ । एक महिनाअघि पनि सम्भव नेपालले चुमनुब्री गाउँपालिकाका १४ महिला समूहलाई यस्तै खालका सशक्तीकरण सामग्री उपलब्ध गराइसकेको छ ।
विगत डेढ दशकयता सम्भव नेपालले शिक्षा, स्वास्थ्य, कृषि, विपद ब्यवस्थापन, स्वरोजगार, सशक्तिकरण लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।




