| शुक्रबार, साउन १, २०८३

सार्वजनिक जग्गामा बजार पुनस्थापित नहोओस्

लामो कसरतपछि बाह्रकिलोस्थित ओख्लेपाखा सामुदायिक वन क्षेत्रबाट बजार हटेको छ । नगर कार्यपालिका बैठकको निर्णय, जिल्ला प्रशासन कार्यालयको साथमा डिभिजन वन कार्यालयको पहलमा बजार त्यहाँबाट विस्थापित भएको हो ।

त्यहाँ करिब २० बर्षअघि निर्मित बजार अब नरहने करिब पक्कापक्की भएको छ । २०८३ सालमा पनि त्यहाँबाट बजार हटेको थियो । तर केही समयपछि पुनस्थापित भयो । त्यतिबेला के कमजोरी भयो र फेरि बजार पुनस्थापित भएको हो ? भन्ने बुझेर अहिले थप उपाय अपनाइएको छ । अर्थात अहिले बजारले चर्चेको क्षेत्रलाई तारबारले घेरेर त्यहाँ वृक्ष रोपण गर्ने भएको छ । त्यस्तै त्यहाँ गाडी नरोक्ने वातावरण बनाइएको छ ।

अब त्यहाँ गाडी पनि रोकिँदैन, गाडी नरोकेपछि बजार पनि बन्दैन भन्ने विश्वास छ । अब पनि कुनै त्यस्तो कमजोरी बाँकी नरहोस्, जसले त्यहाँ बजार पुनस्थापित होओस् । बजार बन्नु, सर्वसाधारणले आयआर्जनको बाटो बनाउनु, कसैले स्वरोजगार गर्नु, अर्थतन्त्र चलायनमान हुनु धेरै राम्रो कुरा हो, त्यो हुनु पनि पर्छ ।

तर एकपछि अर्को सार्वजनिक जग्गा अतिक्रमण गर्नु, वन क्षेत्रलाई प्रतिकूल असर पर्ने गरी प्रदुषित हुनु, यसलाई नै नजिर बनाएर अन्यत्र पनि सार्वजनिक जग्गा अतिक्रमण गर्नु नकारात्मक पाटो हुन् । अब आँबुखैरेनी–गोरखा सडकमा पर्ने बाह्रकिलोजस्ता बजारहरु कहाँकहाँ छन् ? सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा बनाई पसल, दोकान गरी बसेका ठाउँ अन्यत्र पनि पक्कै छन् । ती सबैलाई खालि गराउन पहल गर्नुपर्छ ।

बाह्रकिलो बजार वन डिभिजनले खालि गरायो, अन्यत्र सडक कार्यालयले पनि खालि गराउन सक्छ, नगरपालिका स्वयंले पनि खालि गराउन सक्छ, प्रहरी, प्रशासनले पनि खालि गराउन सक्छ । तसर्थ सार्वजनिक जग्गा अतिक्रमणबाट बच्न, बचाउन सर्वपक्षीय पहलको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्