
उठ्यो बाह्रकिलो बजार
गोरखा नगरपालिका ११ स्थित बाह्रकिलो बजारका घर टहरा खालि हुने क्रममा छन् । नियमक निकायले सार्वजनिक जग्गामा बनेका घरटहरा यही असार ३० गतेभित्र खालि गर्न समयसीमा दिएपछि पसल सञ्चालकहरुले त्यहाँका घरटहरा छाड्न थालेका हुन् ।
अहिले त्यहाँका ३५ वटा घरटहरा खालि भएका डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । नगरपालिकाभित्रका सार्वजनिक जग्गा हडपेर बनेका घर टहरा हटाउने गोरखा नगरपालिकाको कार्यपालिकाले निर्णय गरेको थियो । सोही निर्णयपछि जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी वन डिभिजन कार्यालय, सव डिभिजन कार्यालय, ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहले सो सार्वजनिक जग्गा खालि गर्न सूचित गरेको थियो ।
बारम्बार लिखित तथा माइकिङ गरेर सार्वजनिक जग्गा खालि गर्न आव्हान गरेपछि पसलधनीहरुले घर टहरा खालि गरेका वन डिभिजन कार्यालयका प्रमुख मदनमोहन शाण्डिल्यले जानकारी दिए । सबै घरटहरा खालि भइसकेपछि त्यसलाई हटाएर वन क्षेत्रलाई तारबार गरी सुरक्षित गरिने डिभिजनल वन अधिकृत शाण्डिल्यले बताए ।
आँबुखैरेनी–गोरखा सडकबाट छेपेटारतर्फ जाने चोकमा सार्वजनिक जग्गा कब्जा गरी बिगत २० बर्षदेखि बजार सञ्चालनमा छ । २०७३ सालमा हटाउने प्रयास भए पनि केही समयपछि फेरि बजार पुनस्थापित भएको थियो । ‘अब फेरि वनको जग्गा कब्जा गर्न नमिल्ने गरी तारबार गर्नेछौँ’, डिभिजनल वन अधिकृत शाण्डिल्यले भने, ‘त्यसका लागि हामीले नापजाँच गरिसकेका छौँ ।’




