
गर्भमै तुहियो भीमसेन यातायात प्रालि
गोरखा बजारको पेट्रोलपम्प टोलको एक घरमा ‘भीमसेन यातायात’ नामको साइनबोर्ड टाँगिएको छ । त्यसको दायाँतर्फ पान नं.४०९६३४४९३ उल्लेख छ । वायाँतर्फ कम्पनी कार्यालय दर्ता नंबर. २२५६८१/०७६/०७७ भनेर लेखिएको छ भने बोर्डको पुछारमा स्था.२०७६ अंकित छ ।
घरभित्र दुईवटा कोठामा यातायातको कार्यालयले चापी लगाएको पाँच–छ महिना भएको घरमालिक बताउँछन् । ‘फ्ल्याट मागेका थिए तर पाँच–छ महिना जति भयो, दुईवटा कोठामा चापी लाएर राखेका छन्’, खड्का भन्छन्, ‘तर कार्यालय पनि खुलेको छैन, भाडा पनि अहिलेसम्म दिएका छैनन् ।’ के गर्दैछन्, के भइरहेको छ आफूले केही थाहा नपाएको खड्काको भनाइ छ ।
म्याजिक, अटोरिक्सा, सुमो, माइक्रो लगायतका यातायातका साधन सञ्चालन गर्ने उद्देश्यसहित आठबर्षअघि दर्ता भएको भीमसेन यातायात तथा ढुवानी सेवा प्रालि अहिले मृतप्रायः छ । ‘खारेजीको प्रक्रियामा छ’, कम्पनीका अध्यक्ष वुद्धि श्रेष्ठ भन्छन्, ‘कसैको पनि साथ पाइएन । म एक्लैले के गर्न सक्छु र ? त्यसैले अब कम्पनी दर्ता खारेज गर्दैछु ।’
घरेलु तथा साना उद्योग कार्यालय गोरखाबाट ४७४७/०७६/०७७ नंबरको दर्ता प्रमाणपत्र प्राप्त गरेको सो संस्था गोरखामा अहिलेसम्म सञ्चालनमा नरहेको अटोरिक्सा तथा म्याजिक, टाटा सुमो, जीप लगायतका सेवा सञ्चालन गर्ने उद्देश्यले जन्मिएको हो । १ करोड ४८ लाख ७२ हजार स्थिर पुँजी र ५१ लाख २८ हजार चालु पुँजी गरी कुल दुई करोड पुँजी रहेको सो संस्थाको कारोबार कृषि विकास वैँक गोरखामा सञ्चालित छ ।
तर गोरखामा सञ्चालित विभिन्न यातायात कम्पनी प्रालिको दबाबका कारण गत वैशाखदेखि गतिविधि ठप्प पारेको छ । संस्थाले २०८३ वैशाख ९ गते सार्वजनिक सूचना जारी गरी म्याजिक, अटोरिक्सा, सुमो, माइक्रो लगायतका सम्पूर्ण सेवा हालका लागि स्थगित गरिएको जनाएको छ । ‘यस प्रालिमा गाडी दर्ता गराइदिने भन्दै अनाधिकृत व्यक्तिहरुले पैसा उठाइरहेकाले त्यसो नगर्न र गरेमा त्यसको जवाफदेही संस्था नहुने सुचित गरेको छ’, सो सूचनामा भनेको छ ।
तर संस्थाका अरु सदस्यहरुले भने एकाएक अध्यक्ष निस्कृय भएका कारण संस्था मृतप्राय भएको दावी गरेका छन् । ‘गाडी किनेर चलाउने भनेर धमाधम अघि बढिरहेका थियौँ तर एक्कासी अध्यक्ष आफै निस्कृय भइदिनु भयो’, एकजना सदस्यले भने, ‘उहाँले नै हामीलाई सक्रिय गराउनु भयो । तर फेरि आफै एक्कासी निस्कृय हुनुभयो । हामी अचम्मित भएका छौँ ।’ जिल्लामा सञ्चालित दरौँदी गोरखा यातायात सेवा प्रालि र गोरखा मनकामना यातायात सेवा प्रालिको दबाबले भीमसेन यातायात प्रालिलाई बन्द गराएको उनको आरोप छ ।




