| बुधबार, असार ३०, २०८३

पालुङटारमा २ करोड ५५ लाख लागतमा कृषि तथा पशु सेवा भवन निर्माण

पालुङटार नगरपालिका–४, बाह्रपिर्केमा नवनिर्मित पशु सेवा तथा कृषि विकास शाखाको भवन उद्घाटन गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको २ करोड ५५ लाख रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको उक्त भवनको आइतबार उद्घाटन गरिएको छ ।

नगर प्रमुख विवस चिन्तनले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । उद्घाटनसँगै भवनलाई नियमित सेवा सञ्चालनका लागि आयोजनाले नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण समेत गरेको छ । भवन उद्घाटन गर्दै नगर प्रमुख विवस चिन्तनले यो नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई पालुङटारका किसानहरूलाई गुणस्तरीय र सहज सेवा दिने बलियो आधार भएको बताए ।

‘कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि र आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणका लागि नगरपालिका निरन्तर क्रियाशील रहेको छ’, उनले भने, ‘साथै प्राप्त पूर्वाधारको संरक्षण, सदुपयोग र प्रभावकारी सेवा प्रवाहमा हामी सबैको साझा जिम्मेवारी हुन्छ ।’

आगामि साउन १ गतेदेखि उक्त नवनिर्मित भवनबाट नै कृषि र पशु शाखाको सेवा प्रवाह गरिने प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए । नयाँ र आधुनिक मोडलमा निर्माण गरिएको भवनबाट कृषि तथा पशु सेवा सम्बन्धी सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बन्ने उनको भनाइ छ ।

वडा नं. ४ का वडाध्यक्ष मानबहादुर पौडेलको अध्यक्षता तथा नगरप्रमुख चिन्तनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत बिसी, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना प्रमुख उत्तम आर्चायलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्