| सोमवार, असार २८, २०८३

दरौँदी खोला मोटरेबल पुल उद्घाटन

गोरखाको नयाँसाँघु, नारेश्वर, गोरखा सडकअन्तरगत पर्ने दरौँदी खोला मोटरेबल पुल उद्घाटन भएको छ । गोरखा नगरपालिका–३ र सिरानचोक गाउँपालिका–६ जोड्ने सो पुल आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत विनियोजित बजेटबाट पूर्वाधार विकास कार्यालय गोरखामार्फत निर्माण सम्पन्न भएको उक्त पुल गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका जोड्ने मुख्य संरचना हो । पुल निर्माण सम्पन्न भएसँगै सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकाबासीलाई सदरमुकाम तथा काठमाडौँ जान आउन सहज हुने अपेक्षा गरिएको छ ।
साथै, कृषि उत्पादन बजारसम्म पु¥याउन सुविधा पुग्ने तथा शिक्षा र स्वास्थ्य सेवामा पहुँच थप सुदृढ हुने त्यहाँका स्थानीयहरुको भनाई छ ।
१५ करोड ६० लाख ८३ हजार २४९ रुपियाँ लागतमा दरौदी खोला पुल निर्माणका लागि २०७८ असार ६ गते एलिट कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ । २०८२ असार ६ गते पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौँता भए पनि २०८२ मंसिर २९ मा मात्र काम सम्पन्न भएको थियो ।
स्टिल क्रस प्रविधिबाट पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ । पुलको लम्बाई ७८ मिटर रहेको छ भने चौडाइ ८.४ मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्