| आइतवार, असार २७, २०८३

गोरखा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

गोरखा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धनमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बीच प्रमुख आतिथ एवं प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा जिल्लाका विभिन्न पालिकाहरुबाट उल्लेखनीय रुपमा खेलाडीहरुको सहभागिता रहेको छ । पुरुष युगल (खुला), पुरुष एकल, महिला एकल, यु–१८ छात्र युगल गरी प्रतियोगितामा ४ विधामा प्रतिस्पर्धा गराईने आयोजक समितिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए ।

प्रतियोगितामा पुरुष युगलतर्फ ५० टिम, पुरुष एकल, महिला एकल १३/१३ जना खेलाडी र यु–१८ छात्र युगलतर्फ ६ टिमको सहभागिता रहेको उनले बताए । अध्यक्ष तामाङका अनुसार प्रतियोगितामा पुरुष एकल र महिला एकल तर्फ बिजयी खेलाडीहरुले नगद १० हजारका साथै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।

यस्तै उपबिजयी खेलाडीहरुले नगद ७, तेश्रो स्थान प्राप्त गर्ने दुई खेलाडी जनही नगद २/२ हजारको साथमा मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यसैगरी पुरुष युगल तर्फका विजयी जोडीले नगद ३० हजार, उपविजयी जोडीले नगद १५ हजार र तेश्रो स्थान प्राप्त गर्ने दुई जोडीले नगद ३५०० सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।

यु–१८ छात्र युगलतर्फका विजयी खेलाडीहरुले नगद १५ हजार, उपविजयीले नगद ७ हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद २ हजारको साथमा मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

समितिका अध्यक्ष तामाङ अध्यक्षताामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुल्सी बहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यलय गोरखाका एसपी अनिल कुमार खड्का, रूद्रध्वज गणका गणपति बिरोध रिजाल, सशस्त्र प्रहरी बल गोरखाका डिएसपी ढल प्रसाद काफ्ले, पूर्व मेयर राजनराज पन्त, उद्योग वाणिज्य सघं गोरखाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्