| शनिबार, असार २६, २०८३

अब विधिवत स्थापित होओस् बाह्रकिलो बजार

अहिले गोरखा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, ओख्लेपाखा सामुदायिक वन समूह, स्थानीयवासी सबैतिरबाट बाह्रकिलो बजारको सार्वजनिक जग्गा खालि गर्नुपर्नेमा एक ढिक्का छन् । एकसाताभित्र त्यहाँको घरटहरा हटाउन अल्टिमेटम दिएकाले यो एकताको बलले अबको केहीदिनभित्र त्यहाँका घरटहराहरु हट्लान् ।

सार्वजनिक तथा सरकारी जग्गा हडपेर भौतिक संरचना बनाउनु, व्यापार, बिजनेश गर्नु, खेती आवादी गर्नु तथा बसोबास गर्नु कानून विपरीत कार्य हो । आफ्नो निजी लालपूर्जा भएको जग्गाका अलवा सरकारी तथा सार्वजनिक जग्गाको लोभ लालच गर्नु अविवेकी कार्य मात्र होइन, दण्डनीय कार्य समेत हो ।

यही मान्यता अवलम्बन गर्दै बाह्रकिलो बजारको सार्वजनिक जग्गा पनि अब खालि हुनेछ । त्यहाँबाट विस्थापित भएका व्यापारी, व्यवसायीले अर्को लालपूर्जावाला जग्गामा विधिवत रुपमा आफ्ना पसल, व्यापार, व्यवसाय सञ्चालन गर्ने विश्वास लिन सकिन्छ । अर्थात यहाँबाट विस्थापित भएपछि अन्यत्र कतै स्थापित हुनेछन् ।

अहिले सार्वजनिक जग्गा खालि गराउने अभियान देशव्यापी छ । जोसंग आफ्नो नाउँमा कत्तिपनि जग्गा जमिन छैन, उनीहरुसंग लालपूर्जावाला कत्तिपनि जग्गा जमिन छैन, उनीहरुलाई जग्गा दिलाउने जिम्मा सरकारको हो । त्यसैले भूमि आयोग गठन भएको हो । कुनैपनि नागरिकलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको जिम्मा सरकारले लिएको हुन्छ र त्यो जिम्मेवारी बहन पनि गर्नुपर्दछ ।

बास्तविक सुकुम्बासीलाई सरकारले निश्चित पनि वैकल्पिक जग्गाको व्यवस्था गर्नेछ र गर्नुपर्छ पनि । उनीहरुले रोजेको वा चाहेकै ठाउँ नमिल्न अस्वभाविक होइन । अहिले सरकारले अघि बढाएको यो अभियानलाई सबैले सहयोग गर्नुपर्छ । अहिले सरकार देशभरका सार्वजनिक, सरकारी जग्गा कब्जा गरेर बस्ने तथा आवाद गर्नेहरुलाई यस्तो प्रकृतिको जग्गा छाड्न निर्देशन गरेको छ । यसमा सबैको सरसहयोगको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्