| शनिबार, असार २६, २०८३

पढ्नलाई उमेरले छेक्दैन: ६९ वर्षका लालबहादुर विक क्याम्पस भर्ना भए

गोरखाका ६९ बर्षका लालबहादुर विक क्याम्पस भर्ना भएका छन् । जिल्लाको पालुङटार नगरपालिका वडा नं ६ गाईखुरका बिक वडा नं ५ ठाँटीपोखरीस्थित भवानी क्याम्पसमा भर्ना भएका हुन् ।

हालैको भएको कक्षा १२ को नतिजामा ‘बी’ ग्रेड ल्याएर उतीर्ण गरेका विकले स्नातकमा शिक्षा संकायअन्तरगत नेपाली र स्वास्थ्य विषय लिएर अध्ययन सुरु गरेका भवानी क्याम्पसका प्रमुख विष्णुप्रसाद आचार्यले बताए । विकले ११ र १२ मा पनि सोही विषय लिएर पढेकाले त्यसैलाई नै निरन्तरता दिएका उनले जानकारी दिए ।

लालबहादुर विकले पालुङटार ५ को ठाँटीपोखरीस्थित भवानी माविबाट कक्षा १२ उत्तीर्ण गरेका हुन् । १२ को पढाई पूरा भएलगत्तै उनले भवानी क्याम्पसमा स्नातक तहको पढाई सुरु गरेका क्याम्पस प्रशासनले जनाएको छ । ६९ वर्षका लालबहादुर क्याम्पस भर्ना भएसँगै अन्य विद्यार्थीहरु उनीबाट प्रेरित भएका क्याम्पस प्रमुख आचार्य बताउँछन् ।

क्याम्पस प्रमुख आचार्य भन्छन्, ‘पढ्नलाई उमेरमा छेक्दैन भन्ने उत्कृष्ट उदाहरण हुनुहुन्छ लालबहादुर । हामी शिक्षक र अन्य विद्यार्थीहरुको लागिसमेत उहाँ प्रेरणको स्रोत हुनुहुन्छ ।’ विकले स्नातक तहमा भर्ना भएसँगै क्याम्पसमा शिक्षक एवं विद्यार्थीहरुलाई धेरै हौसला मिलेको क्याम्पस प्रमुख आचार्यको भनाइ छ ।

लालबहादुर विक २०५५ सालमा नेपाल प्रहरीको सहायक निरीक्षक(सई) पदबाट सेवानिवृत्त भएका थिए । कक्षा ७ पढ्दापढ्दै २०३५ सालमा प्रहरी सेवामा भर्ना भएका उनले २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविबाट ‘प्राइभेट’तर्फ एसएलसी उतीर्ण गरेका थिए । ‘त्यतिबेला प्राइभेट टेस्ट दिन पाइन्थ्यो । टेस्टमा पास ग¥यो भने जति कक्षा पढेकाले पनि एसएलसी दिन पाउँथे । मैले पनि त्यसरी नै टेस्ट दिएर एसएलसी दिएको हो’, उनले भने । तर, त्यतिबेला जागिर खाँदै पढ्ने कुरा सजिलो थिएन । एसएलसी दिने बेला पनि ‘सिनियर कमान्डर’हरूले नपढोस् भनेर धेरै काम लगाउने गरेको उनी सुनाउँछन् ।

‘दलितको छोरो पढेर हामीभन्दा ठूलो हुने भयो भनेर सिनियरहरूले खुबै पेल्थे । तर जसोतसो एसएलसी दिएँ । तेस्रो श्रेणीमा उत्तीर्ण पनि भएँ’, उनले भने, ‘पहिला गाउँकै स्कुल पढ्न पनि पैसा लाग्थ्यो । हामी चार भाई, एक बहिनी थियौँ । आर्थिक अभावका कारण पढाइ छोड्नु प¥यो । तर, मनबाट शिक्षाको भोक हराएन ।’ पढाइको भोक मेट्न अहिले निरन्तर पढाइलाई अघि बढाएको उनको भनाइ छ ।

उनी पढाइलाई निरन्तरता दिन चाहन्थे । तर, घर व्यवहार र आर्थिक अभावका कारण निरन्तरता दिन सकेनन् । ‘छोराछोरी जन्मिसकेका थिए । आफ्नो रहरमात्र हेरेर भएन । घर व्यवहार पनि चलाउनु प¥यो’, विगत सम्झँदै विकले भने, ‘पेन्सन आएपछि पनि पढ्ने अनुकूलता मिलेन । अहिले छोराछोरीहरू सबै हुर्किएर पनि बिहेबारी भइसक्यो । अब मलाई पढ्न सहज वातावरण मिलेको छ । त्यसैले फेरि पढ्न थालेको हुँ ।’

चार छोरा, एक छोरी र श्रीमतीसहितका परिवार भएका विकका छोराहरु वैदेशिक रोजगारीमा छन् । उनीहरुले पनि बुवालाई पढ्न प्रोत्साहन गर्नुका साथै सहयोग गरेको विक बताउँछन् । ढल्कँदो उमेरमा पनि शिक्षाप्रतिको उनको मोह देखेर विद्यालयका शिक्षकहरुले ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने भनाइ पुष्टि भएको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्