| शुक्रबार, असार २५, २०८३

चुम्चेत र छेकम्पारमा ‘फोर जी सेवा’ सुचारु हुँदै

विकट मानिने उत्तरी गोरखाको चुम्चेत र छेकम्पारमा फोर जी सेवा सुचारु हुने भएको छ । फोर जी सेवा सुचारु गर्नका लागि आवश्यक टावर निर्माणको काम हालै सम्पन्न भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।

अबको केही समयभित्र सेवा सुचारु हुने उनले जानकारी दिए । लामाका अनुसार पालिकामा फोर जी सेवा सुचारु गर्न वडा नं ६ को चुम्चेतस्थित सिप्चेत गाउँमा टावर निर्माण भएको छ । यस्तै, वडा नं ७ छेकम्पारमा समेत टावर निर्माण गरिएको उनले जनाए । उक्त क्षेत्रमा टावर राखिएको ठाउँबाट चार किलोमिटर वरपर नेपाल टेलिकमको फोर जी सेवा संचालन हुने उनको भनाई छ ।

फोनको टावर भने कुनै समस्या नहुने उनी बताउँछन् । उनी भन्छन्, ‘फोर जी चारकिलोमिटर वरपर चलेपनि मोबाइलको टावरमा भने समस्या हुँदैन् । अब चुमभ्यालीमो अन्तिम गाउँ निलेभन्दा माथिको कालुङ खर्कसम्म मोबाइलको टावर चल्छ ।’
चुम्चेत, छेकम्पार लगायत चुमभ्यालीको अधिकांश क्षेत्रमा मोबाइलको टावर समेत नटिप्ने अवस्था थियो । नेपाल टेलिकमले टावर निर्माण गरेसँगै मोबाइलको सिग्नलमा कुनै समस्या नहुने पालिका अध्यक्ष लामाले दाबी गरे । अधिकांश ठाउँहरुमा फोर जी सहितको टावर चल्ने उनले बताए ।

सिप्चेत र छेकम्पारमा निर्माण भएका टेलिकमको टावरमा केही दिनभित्र विजुली जडान गरेर सेवा सुचारु गर्ने तयारी गाउँपालिकाको छ । ‘छेकम्पारमा हप्तादिनभित्र काम सकिन्छ । सिप्चेतको काम पनि १०–१२ दिनभित्र पूरा हुन्छ’, गाउँपालिका अध्यक्ष लामाले भने ।

हाल टावरमा विद्युत लाइन जडान गर्न विजुली पोल गाड्ने काम भैरहेको उनले जनाए । फोर जी सेवा सुचारु भएसँगै चुमभ्यालीबासी सूचना र प्रविधिबाट बञ्चित हुनु नपर्ने गाउँपालिका अध्यक्ष निमा लामाको भनाई छ ।

विगत लामो समयदेखि नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय र चुमनुब्री गाउँपालिकाबीच पालिकामा फोर जी सेवा टावर बिस्तार गर्ने सहमति भएको थियो । सोही सहमतिअन्तरगत टावर निर्माण कार्य सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्