
साउनदेखि पालिकाको कार्यालयबाट मालपोत सेवा दिँदै पालुङटार
जिल्लाको पालुङटार नगरपालिकाले आगामि आर्थिक वर्षदेखि पालिकाबाटै भूमि प्रशासन(मालपोत) सेवा दिने भएको छ । पालुङटारको १९ औँ नगरसभाले आगामि आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पारित गर्दै भूमि प्रशासन शाखा संचालन गर्ने निर्णय गरेको थियो ।
पालिकामा भूमि प्रशासन सेवा संचालनका लागि आवश्यक तयारी भैरहेको नगर उपप्रमुख बन्दना पाण्डेले बताइन् । ‘हाम्रो योजना आगामि आर्थिक वर्षबाट सेवा संचालन गर्ने हो, सोहीअनुसार आन्तरिक तयारीमा छौँ’, उनले भनिन् । पालिकाबाट भूमि प्रशासन सेवा सुरु भएसँगै पालुङटारबासीले नापी तथा मालपोत सम्बन्धी सेवा पालिकाबाटै प्राप्त गर्ने उनले जानकारी दिइन् ।
भूमि प्रशासन सम्बन्धी सेवा स्थानीय तहको एकल अधिकारको विषय हो । नापी, मालपोत सम्बन्धी सेवा दिने दायित्व स्थानीय तहकै भएकाले पनि आफूहरुले उक्त सेवा संचालन गर्न लागेको उपप्रमुख पाण्डेले बताएकी छिन् । उनी भन्छिन्, ‘भौगोलिक हिसाबले पनि जिल्लाको अन्य पालिकाहरुको तुलनामा पालुङटारमा भूमिसम्बन्धी धैरै कामहरु हुन्छन् । त्यसैले पनि यहाँ भूमि प्रशासन शाखा संचालन गर्न आवश्यक थियो ।’
जिल्लाको समग्र भूमिप्रशासन गतिविधिहरु मध्ये ५० प्रतिशत गतिविधि पालुङटार नगरपालिकाको हुने उनको दाबी छ ।
हाल नगरपालिकाले नगरकार्यपालिकाकै कार्यालयबाट सेवा प्रवाह गर्ने तयारी गरेको छ । पालिकाको मौजुदा कर्मचारीहरुलाई परिचालन गरेर सेवा संचालन गरिने उनले बताइन् ।
‘यो सुरुवात मात्र हो, अहिलेलाई हामीसँग भएका स्रोत साधनहरुलाई नै सर्वोत्तम प्रयोग गरेर सेवा प्रवाह हुन्छ’, पालिकाकी उपप्रमुख पाण्डेले भनिन् । यसले पालिकाको राजश्व वृद्धिमा समेत सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन् । यस्तै, स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि पालिकाबासीले जग्गा प्रशासनसम्बन्धी कामका लागि जिल्ला सदरमुकामस्थित मालपोत तथा नापी कार्यालयसम्म धाउनुपर्ने बाध्यता कम हुने नगरपालिकाले जनाएको छ ।
यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट घट्नुका साथै सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने पालिकाको विश्वास छ । यस्तै, स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि पालिकाबासीले जग्गा प्रशासनसम्बन्धी कामका लागि जिल्ला सदरमुकामस्थित मालपोत तथा नापी कार्यालयसम्म धाउनुपर्ने बाध्यता कम हुने नगरपालिकाले जनाएको छ ।
यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट घट्नुका साथै सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने पालिकाको विश्वास छ ।




